मौसम सफा भएर घाम लागेपनि चिसो कायमै

पुस २ काठमाडौ, चार दिनदेखि पातलो वर्षा भएको मौसम बुधबारदेखि सफा भएर घाम लागेको छ । घामको कमजोर प्रकाश देखिएपनि चिसो बढ्ने क्रम भने कायमै रहेको छ । मौसमविद्हरूका अनुसार घामको कमजोर प्रकाश खुला आकाशका कारण उतै फर्किएर जाने भएकोले मौसम झन् चिसो हुनेछ।मौसमविद्का अनुसार अबका केही दिन बादल हटेर आकाश खुला हुने भएकाले चिसो थपिन्छ।

केही दिनयता बाक्लो बादल र हुस्सुका कारण पृथ्वीमा आएको ताप यतै रहँदा न्यूनतम तापक्रम बढेको थियो। काठमाडौं उपत्यकामा मंगलबार केही समय वर्षा भए पनि न्यूनतम तापक्रम ७.६ डिग्री सेल्सियस थियो।

अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रहरूका अनुसार बुधबार घामको अधिक ताप पाँच अल्ट्राभायोलेट (इलोक्ट्रो म्याग्नेटिभ रेडिएसन-युभी) रहनेछ। त्यस्तै बिहीबार र शुक्रबार पाँच यूभीभन्दा बढी हुँदैन।

घामको ताप तीनदेखि पाँच यूभीलाई मध्यम, छदेखि आठलाई उच्च तथा आठदेखि १० लाई अति उच्च ताप मानिन्छ। रातिको न्यूनतम तापक्रम शुक्रबारसम्ममा दुई डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।
बुधबार पनि केही पहाडी क्षेत्रमा भने हल्का बादलसहित वर्षाको सम्भावना छ। तराईमा भने बाक्लो हुस्सुको अनुमान छ। मौसम अनुमान गर्ने भूउपग्रह यन्त्रका अनुसार तराईमा दुई सय मिटरभन्दा टाढा नदेखिने गरी बाक्लो हुस्सु लाग्नेछ।

मंगलबार पनि देशभर वर्षा हुनुको साथै सुदूरपश्चिम र सुदूरपूर्वका पहाडी जिल्लामा भारी हिमपात भएको थियो ।
पूर्वी नेपालमा अरब सागरबाट आएको प्रणाली तथा पश्चिम नेपालमा पश्चिमी वायुको प्रभावले वर्षा भएको हो।

राजस्थानमा बनेको न्यूनचापीय क्षेत्रले तानेको अरब सागरको ओसिलो हावाको प्रभाव कायमै रहेका कारण चार दिनदेखि मौसममा गडबडी आइरहेको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।न्यूनतम तापक्रम जुम्लामा (माइनस ०.५) र डढेलधुरामा (माइनस ०.७ डिग्री सेल्सियस) मा झरेको छ। देशका अन्य स्थानमा पनि तापक्रम तल झर्ने क्रम जारी छ।

सबैभन्दा धेरै दिपायलमा २९.५ मिलिमिटर वर्षा भएको थियो। त्यस्तै वीरेन्द्रनगर, धनगढी, जनकपुर, ताप्लेजुङ, ओखलढुंगा, धरान तथा विराटनगरमा वर्षा भएको थियो।
राजधानीमा मंगलबार १७.९ मिलिमिटर वर्षा भएको थियो।

सम्बन्धित शिर्षकहरु