मंसिर २४ । काठमाडौ,नेपाल प्रहरीले तीन बर्षभित्रमा २ सय ८५ किलो सुन बरामद गरिएको सरकारलाई स्पष्टिकरण दिएको छ ।
व्यवस्थापिका संसद अन्तरर्गत सार्वजनिक लेखा समितिलाई स्पष्टिकरण दिने क्रममा प्रहरी महानिरीक्षक अर्यालले अन्दाजी १ अर्ब २० करोड मुल्य बराबरको सुन बरामद गरिएकोस्पष्टिकरण दिएका हुन ।
सुन बरामद गर्दा दिने गरिएको सुराकी खर्चबारे गृहसचिव सूर्यप्रसाद सिलवाल र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग व्यवस्थापिका संसद अन्तरगत सार्वजनिक लेखा समितिले बुधबार स्पष्टीकरण लिएको छ ।
प्रहरी प्रमुखले समितिलाई गराएको जानकारी अनुसार सुन बरामद गर्न खटाइने सुराकीलाई सुनको २५ प्रतिशत कमिसन दिने प्रावधान अनुसार करिब ३० करोड रुपैयाँ सुराकीका नाममा खर्च भएको नेपाल प्रहरीले देखाएको छ ।
लेखा समितिमा स्पष्टीकरण दिँदै प्रहरी प्रमुख अर्यालले सुराकीहरुको नाम भने कानुन अनुसार सम्बन्धित न्यायिक निकायलाई बाहेक अरुलाई सार्वजनिक गर्न नमिल्ने बताए ।
नेपाल प्रहरीले पछिल्लो एक वर्षमा मात्रै १ सय ११ किलो सुन बरामद गरेको गृहमन्त्रालयका अधिकारीले संसदीय समितिलाई जानकारी गराएका छन् ।
प्रहरी प्रमुख र हाकिमहरुले आफ्नै मान्छेलाई नक्कली सुराकी खडा गरेर रकम लिने गरेको उजुरी लेखा समितिमा परेकोले यहि आधारमा लेखा समितिले गृहसचिव सिलवाल र प्रहरी प्रमुख अर्याललाई स्पष्टीकरण लिन बोलाएको हो ।
प्रहरी प्रमुख र हाकिमहरुले आफ्नो मान्छेलाई सुराकी भत्ता खुवाउने गरेको भन्दै लेखा समितिमा प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीले उजुरी गरेका थिए ।
महानिरीक्षक अर्यालले भने लेखा समितिलाई सुराकीलाई दिने कमिसन भन्सार र राजस्व कार्यलयले दिने हुँदा यसमा प्रहरीको संलग्नता नरहेको जवाफ दिएका छन् ।
समितिले यसअघि पटक पटक बोलाउँदा समेत अर्याल आएका थिएनन।








