गोरखा २० । मंसिर, संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति तथा एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले दलहरु गम्भीर भएर लाग्ने हो भने दुई घण्टा भित्रै पनि संविधान बन्न सक्ने बताउनु भएको छ ।
गृहजिल्ला गोरखाको भ्रमणका क्रममा १२ किलो गोरखामा आयोजित पत्रकार भेटघाटका क्रममा सभापति भट्टराईले दलहरुका बीचमा मुख्य विषयमा सहमति बनेमा संविधान बन्न कुनै कठिन नहुने धारणा राख्नु भयो ।
केही दिन वा हप्ताभित्र सहमति गर्न सकियो भने प्रक्रिया छोट्याएर माघ ८ मा संविधान जारी गर्न पनि सम्भव रहेको उहाको भनाई छ ।
उहाले दलहरुका बीचमा संविधानका अन्तरबस्तुमा सहमति बन्ने हो भने माघ ८ मा संविधान जारी गर्ने सम्भावना अहिले पनि रहेको बताउनुभएको छ ।
संघीयताका सन्दर्भमा राज्य पुन:संरचना समिति र राज्य पुन:संरचना आयोगको प्रतिवेदनमा नै मूल सिद्धान्त प्रतिपादन भइसकेको, पहिचानका ५ आधार, पहिचानका ४ आधार र आयोगको प्रतिवेदनमा भएको १ प्रतिशतभन्दा बढि भाषा र जातिको समुदायलाई स्वायत्त प्रदेश दिने आधारमा टेकेर संख्या निर्धारण र सिमांकन गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।
उहाले वृहत शान्ति सम्झौता, अन्तरिम संविधान र विभिन्न पक्षसँग भएका सम्झौताहरुको आधारमा टेकेर र पहिलो संविधानसभाले गरेका कामको स्वामित्व लिँदै बाँकी काम पूरा गरेर संविधान जारी गर्नुपर्ने पनि बताउनुभयो ।








