मंसिर ५ ।काठमाडौ, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं शिखर सम्मेलनका लागि निजी सञ्चार माध्यमका विभिन्न विधाका पत्रकारहरुले पनि मुख्य आयोजना स्थल राष्ट्रिय सभा गृहमा प्रवेश गर्न पाउनु पर्ने माग गर्दै उनिहरुले आन्दोलन गरेका छन ।
यही मंसिर १० देखि ११ गतेसम्म हुन गइरहेको सम्मेलनमा फोटोपत्रकार, टेलिभिजनका क्यामरापर्सनलाई मुख्य आयोजना स्थल राष्ट्रिय सभा गृहमा पहुँच नदिने षड्यन्त्र भएको भन्दै फोटो पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।
फोटो पत्रकारको छाता संगठन पी.जे क्लव नेपालले सञ्चार मन्त्री मिनेन्द्र रिजाल र परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेलाई यही मंसिर ३ गते भेटी ध्यानकर्षण गराएको थियो ।
तर हालसम्म कुनै सुनवाई नभएको र विरोधकै अभियान अन्तर्गत आज काठमाडौको बबरमहलमा सार्क प्रेस पास डाउन गरी शान्तिपूर्ण विरोध गरिएको छ ।
लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता भएको मुलुकमा हुन गइरहेको शिखर सम्मेलनमा फोटो पत्रकारलाई सार्कको उद्घाटन र समापनमा समेत प्रवेश निषेध गर्नु कुनै कोणबाट पनि युक्तिसंगत नभएको यस क्लबले ठहर गरेको छ ।
सरकारको गैरजिम्मेवार कदमको सांकेतिक विरोध गरेको बताउँदै फोटो पत्रकार क्लबका अध्यक्ष प्रकाश माथेमाले सरकारले निर्णयमा पुनर्विचार नगरे आगामी दिनमा शिखर सम्मेलनसँग सम्बन्धित कुनै पनि तस्वीर कभरेज नगर्ने र सरकारी कार्यक्रममा कालो पट्टी बाँधी विरोध जनाउने बताउनु भयो ।








