मङ्सिर ४ ।म्याग्दी, मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउन लाग्नु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाको व्यवस्थाको तयारी पुरा भएको छ ।
मुक्तिनाथ मन्दिर नजिकै हेलिकोप्टर अवतरण गर्ने ठाउँ बनाइएको छ भने मुक्तिनाथमा नै मोदीलाई नागरिक अभिनन्दन गरिने योजना पनि रहेको छ ।
मङ्सिर १० र ११ गते काठमाडौँमा हुने १८ औँ सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउन लाग्नु भएका मोदी सम्मेलनका क्रममा मुक्तिनाथ दर्शनका लागि मुस्ताङ पनि आउने भएकोले सुरक्षा, सरसफाइ, हेलिकप्टर अवतरण गर्ने ठाउँ, मुक्तिनाथ मन्दिरसम्म पुग्ने बाटोको सरसफाइलगायतका सम्पूर्ण तयारी सुरु गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
मोदीलाई नागरिक अभिनन्दन गर्नका लागि स्थानीय चन्द्रमोहन गौचनको संयोजकत्वमा १७ सदस्यीय नागरिक अभिनन्दन समिति पनि बनाइएको छ ।
समितिमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योगी, व्यवसायीलगायतको सहभागिता रहेको संयोजक गौचनले जानकारी दिनुभयो ।
मुस्ताङमा भारतीय लगानीमा सम्पन्न भएका र चालु अवस्थामा रहेका विकास निर्माणका कार्यको पनि प्रम मोदीलाई जानकारी गराउने योजना रहेको छ ।
मुस्ताङमा शिक्षा, स्वास्थ्य, पुल, गुम्बा संरक्षणलगायतका क्षेत्रमा भारतीय लगानी रहेको छ ।







