सार्क सम्मेलनको तयारी गर्दा अनियमितता नगर्न निर्देशन

काठमाडौँ,संसद् मातहतको अनुगमन तथा सुशासन समितिले सार्क सम्मेलनको तयारी र पूर्वाधार निर्माणमा कुनै पनि किसिमको अनियमितता हुन नदिन तथा गुणस्तरीय काम गराउन सरकारलाई निर्देशन दिएको छ ।

सम्मेलनका तयारीका क्रममा पूर्वाधार निर्माणका लागि गरिएको ठेक्कापट्टाको पारदर्शितालगायतका बारेमा नागरिक तहबाट प्रश्न उठेपछि समितिले सुक्रबार सम्बन्धित मन्त्रालयका सचिवसँग यस विषयमा जानकारी लिएको हो ।

बैठकमा समग्र सार्क शिखर सम्मेलनको आवश्यक तयारी र व्यवस्थापनको पाटोबाट सकारात्मक सन्देश प्रवाह गर्नसमेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा मुख्यसचिव लीलामणि पौडेलले सम्मेलन कुन स्थानमा गर्ने भन्नेबारेमा सयममै छिनोफानो गर्न नसक्दा अहिले हतारमा काम गर्नुपर्ने बाध्यता सिर्जना भएको स्वीकार गर्नुभयो ।

सम्मेलनको तयारीको बहानामा जो कसैले पनि अनियमितता र लापर्बाही गरको प्रमाणित भएको खण्डमा त्यस्ता व्यक्तिलाई क्षमा नदिने प्रतिबद्धता जनाउँदै उहाँले पूर्वाधार निर्माणमा गुणस्तरको पक्षबाट उठेका प्रश्नलाई छानबिनको दायरामा बताउनुभयो ।

मानवीय कमजोरी र सीमाका कारण कतिपय काम गर्न कठिनाइ हुने कुरालाई बुझिदिन सांसदसँग आग्रह गर्दै मुख्य सचिव पौडेलले सार्कका लागि सडक किनारामा रङरोगन गरिएका पर्खालमा पर्चा टाँस्ने तथा भित्तेलेखन गर्ने जो सुकैलाई पनि दण्डको भागीदार बनाउने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, सहरी विकास, गृह, परराष्ट्रमन्त्रालयका सचिवहरुले मन्त्रालयको जिम्मेवारीअनुसार भइरहेको कामको प्रगति विवरण समितिसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा अर्थमन्त्रालयका प्रतिनिधिले सार्क सम्मेलनको तयारीमा करिब रु दुई अर्ब खर्च लाग्ने अनुमान गरिएको, हालसम्म रु ७८ लाख निकास भइसकेको, रु ८४ लाख भुक्तानीको क्रममा रहेको र थप रु ३५ लाख खर्च लाग्ने देखिएको जानकारी दिएका थिए ।

 

सम्बन्धित शिर्षकहरु