काठमाडौँ,नेपाली काँग्रेस र नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरुसँगको भेटमा विदेशी कुटनीतिज्ञहरुले नेपाली जनताको चाहना नयाँ संविधान भएकाले निर्धारित मितिमै संविधान ल्याउन जोड दिएका छन ।
संविधानमा राखिने प्रावधानबारे साझा अवधारणा बनाएका यी दलहरु र विदेशी राष्ट्रका कूटनीतिज्ञहरुबीच बुधवार भएको भेटमा संविधान निर्माण प्रक्रियामा भइरहेका गतिरोध सम्बन्धमा छलफल भएको थियो ।
सोल्टी होटलमा भएको छलफलमा प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणका सिलसिला देखापरेका अवरोधबारे विदेशी कूटनीतिज्ञलाई जानकारी गराउनुभएको उपसभापति पौडेलले बताउनुभयो ।
छलफलमा एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबरा र विभिन्न राष्ट्रका कूटनीतिज्ञको सहभागिता थियो ।
छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणका सम्बन्धमा एमाओवादीले सिर्जना गरेका अवरोधबारे कूटनीतिज्ञहरुलाई जानकारी गराइएको बताउनुभयो ।
सो अवसरमा कूटनीतिज्ञबाट नेपाली जनताको चाहना नयाँ संविधान भएकाले निर्धारित मितिमै संविधान ल्याउन जोड दिइएको उपसभापति पौडेलले बताउनुभयो ।
एमालेका उपाध्यक्ष भीम रावलले संविधान निर्माण प्रक्रियामा देखापरेका अवरोधबारे कूटनीतिज्ञहरुसँग छलफल भएको जानकारी दिनुभयो ।








