आश्विन ३१ । काठमाडौ,यातायात व्यवसायी र सरकारबीच सार्वजनिक यातायातमा करिब ६ प्रतिशत भाडा बढाउने सहमति भएको छ ।
चाडपर्व सकिने बित्तिकै वा छठ पर्व सकिएपछि भाडा बढाउने सहमति भएको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालका अनुसार लामो दूरीका यात्रुवाहक बसमा ५ दसमलव ६३ प्रतिशत, मालवाहक सवारी पहाडी रुटमा ५ दसमलव २७ प्रतिशत र तराईको गन्तव्यमा ५ दसमलव २१ प्रतिशत बढ्दै छ ।
यस्तै सहरी क्षेत्रमा चल्ने सार्वजनिक सवारीमा प्रति ४ किलोमिटरमा १ रुपैयाँको औसतमा बढ्छ ।
ट्याक्सी भाडा चाहिँ १ किलोमिटरमा ६ रुपैयाँ ५८ पैसा बढ्ने छ ।
महानिर्देशक दाहालले यातायात व्यवसायीको दबाव हुँदा हुँदै पनि करिब डेढ वर्षदेखि भाडा वृद्धि नगरेको कारण कार्तिक १५ गतेदेखि भाडा बढाउन लागिएको बताउनु भयो ।
समयमै संविधान जारी गर्न दलहरु क्रियाशील हुनुपर्छ : नेतृ भण्डारी
असोज ३१ ।विराटनगर,नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले निर्धारित समयमा संविधान जारी नभए मुलुकमा अन्योल छाउने भएकाले जसरी भए पनि संविधान जारी गर्नेतर्फ दलहरु क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ ।
नयाँ संविधान जारी नभएसम्म वर्तमान सरकार परिवर्तन नहुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले वर्तमान सरकार संयुक्त सरकार भएकाले सानातिना विवाद आउँदैमा सरकार परिवर्तन नहुने दाबी गर्नुभयो ।
नेत्री भण्डारीले सङ्घीयता, शासकीय स्वरुप तथा निर्वाचन प्रणालीलगायतका विषयमा दलहरुबीच सहमति नभए जनताका बीचमा गएर विवादित विषयलाई जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्ने पर्ने धारणा प्रकट गर्नुभयो ।
एमाले नेत्री भण्डारीले आगामी माघ ८ गते नयाँ संविधान जारी गर्नुबाहेक दलहरुसँग अरु विकल्प नभएकाले दलहरुबीच सहमति नभएका विषयलाई थाती राखेर संविधान जारी गर्नुपर्ने बताउनुभयो ।






