असोज २२ ।काठमाडौ,दशैं सुरु भएको घटस्थापनादेखि पुर्णिमा सम्ममा देशभर १ सय ३८ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बस, ट्रक, टेम्पो, कार मोटरसाईकल लगायतका सवारी दुर्घटनामा परेर उनीहरुको ज्यान गएको हो ।
त्यसमा ९० पुरुष, ३८ महिला, ३ बालक र ८ बालिको ज्यान गएको हो । २ सय ४४ जना गम्भीर घाइते भएका छन् । अघिल्लो बर्षको दशैंमा ७० जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएका थिए ।
घटस्थापनापछि शहरबाट गाउँमा दशैं मनाउन जानेको घुईचो र गुणस्तरहिन सडकका कारण दुर्घटना भएको हो ।
प्रहरी मुख्यालयको कार्य बिभाग प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजीपी) गणेशराज राई दशैंका बेला क्षमता भन्दा बढी यात्रु बोकेर हिड्ने गरेका सवारी साधनहरु बढि दुर्घटनामा पर्ने बताउँछन् । ‘कच्ची सडकमा क्षमता भन्दा बढि यात्रु र थोत्रा बसहरु चलाउँदा दुर्घटना बढि हुने गरेको हो’, उनले भने ‘गाउँका कतिपय कच्ची सडकमा प्रहरी कार्यायल पनि हुदैनन्, नत प्रहरी नै पुग्छन् ।’
प्रहरीको आखाँ छलेर बस भित्र र छतमा क्षमता भन्दा बढी यात्रु राखिनाले दुर्घटना हुने गरेको उनको भनाई छ । ‘केहि पैसाको लागि धेरै यात्रुको ज्यान जोखिममा राखेर कठिन यात्रा गराउने गरिएको छ’, राईले भने, ‘त्यस्तोमा यात्रुले समेत आफ्नो सुरक्षाका लागि जोखिम मोलेर सवारी चढ्न नहुने हो ।’
कच्ची सडक बाहेक कालोपत्रे गरिएका ठुला राजमार्गमा समेत दुर्घटना भई सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय ईटहरीमा २८ जनाको दुर्घटनामा परि ज्यान गएको छ । पथलैयामा २३, बुटवलमा २६, कोहलपुरमा १४ र अत्तरीया क्षेत्र अन्तर्गत ३६ जनाले ज्यान गुमाएका छन् । काठमाडौं उपत्यकामा भने यो पटक दुर्घटनाको संख्यामा कमी आएको छ । यो बर्ष काठमाडौं, ललितपूर र भक्तपुरमा सवारी दुर्घटनामा परी एक महिला, पूरुष र बालिका सहित ३ जनाको मात्र ज्यान गएको छ । अघिल्लो बर्षको दशैंमा ८ जनाको ज्यान गएको थियो ।
ट्राफिक महाशाखाले लागु गरेको मादक पदार्थ सेवन (मापसे) अभियानका कारण राजधानीमा दुर्घटनामा ज्यान गुमाउनेहरु कमी भए ।
प्रहरी मुख्यालयको आंकडा अनुसार सबै भन्दा बढि दुर्घटना चालकको लापरबाहीका कारण भएका छन् । चालकको लापरबाहीका कारण १ सय ५३ वटा दुर्घटना भएका छन् । यस्तै पैदल यात्रुको गल्तीका का।ण १४ वटा दुर्घटना भएका छन् । ओभरटेक गर्दा ८ वटा दुर्घटना भएका छन् । धेरै जसो यात्रुबाहक बसहरु बिच हुने अस्वस्थ प्रतिस्पर्धा र मोटरसाईकल चालकले लापरबाही पुर्व ओभरटेक गर्दा यस्ता दुर्घटन भएको प्रहरीले जनाएको छ ।
तिब्र गतिका कारण १५ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ । यस्तै नेपाल प्र्रहरी र ट्राफिक प्रहरीले कडाई गरेको मादक पदार्थ सेवन पछि सवारी चलाउन रोकमा ८ वटा घटना भएका छन् । सवारी साधनको यान्त्रिक गडबढिका कारण ७ वटा दुर्घटना भएका छन् । चौपाय, गाई, भैसी, कुकुर जस्ता जनावर अचानक सडकमा आईदिदाँ दुई वटा घटना भएका छन् । भत्किएको र खाल्डाखुल्डी भएको सडकका कारण ४ वटा दुर्घटना भएका छन् ।








