असोज १७ । काठमाडौं,नेपालीहरूको महान् चाड विजयादशमीको उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेताहरूले शुभकामना व्यक्त गरेका छन् ।
सबैले शुभकामना सन्देश दिँदै समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति डा. रामवरणा यादवले शुभकामना सन्देश दिँदै वर्षभरि आइरहने चाड र जात्रा नेपाली संस्कृतिका मौलिक विशेषता भएको उल्लेख गर्दै यस्ता पर्वले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई आपसमा जोड्न सम्बन्ध सूत्रको काम गरेको बताउनु भएको छ ।
उउहाले यस क्षणमा देशका विभिन्न भागमा आएको प्राकृतिक विपत्तिजन्य प्रकोपका कारण जीवनयापन कष्टमय भएका परिवारप्रति सहभाव व्यक्त गर्दै उनीहरूको दैनिक गुजारा सहज तुल्याउने र जीविकाको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्न सबैसँग आग्रह गर्नु भएको छ ।
उपराष्ट्रपति परमानन्द झाको सन्देशमा पनि राष्ट्रिय सहमति र सहकार्यबाट मात्रै लोकतान्त्रिक संविधान जारी हुन सक्ने भएकाले सो कार्यमा सबै दल र नेपालीलाई एकताबद्ध गर्दै नयाँ संविधान निर्माणार्थ यस बाटामा अघि बढ्न दुर्गा भवानीले प्रेरणा प्रदान गरून् भन्ने कामना गर्नु भएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले प्रजातन्त्रको स्थापना, पुनःस्थापना र संस्थागत विकासका लागि नेपाली जनताले झन्डै ६० वर्षसम्म गरेको आन्दोलन र सङ्घर्षका उपलब्धिलाई संस्थागत गरी नेपाल र नेपालीको भविष्य सुरक्षित गर्ने संविधान लेखनको ऐतिहासिक जिम्मेवारी पूरा गर्न हरेक नेपालीले सहयोग गर्नुहुने विश्वास व्यक्त गर्नु भएको छ ।
आफ्नो शुभकामना सन्देशमा उनले एक्काइसौं शताब्दीमा नेपाली नागरिकलाई सुखसुविधा दिन धेरै काम गर्नुपर्ने खाँचो रहेको जनाउँदै स्वदेशमा नै लगानीका अवसर सिर्जना गरी रोजगारी सिर्जना गर्न तथा समस्त नेपाली नागरिकलाई योग्य, सक्षम, सुखी, समृद्ध बनाउने कार्यका लागि निर्धारित समयमा नै लोकतान्त्रिक संविधान जारी गर्नुपर्नेमा जोड दिनु भएको छ ।
उहाले राजनीतिक दलबीचका आपसी, सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट नेपाललाई सबल राष्ट्रमा रूपान्तरण गर्न सम्भव छ भन्दै संविधानसभामा प्रतिनिधित्व हुन नसकेका राजनीतिक दलको विचारलाई पनि आगामी संविधानमा समेट्न अधिक लचकतासाथ अधिकतम प्रयास भइरहेको बताउनु भएको छ ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपालीको महान् चाड विजया दशमी २०७१ को उपलक्ष्यमा देश विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीमा सुख, शान्ति, सुस्वास्थ्य एवम् प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ ।
शुभकामना सन्देशकै क्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई दिगो शान्ति र समृद्धिमा लानका लागि आगामी माघ ८ गतेभित्र लोकतान्त्रिक संविधान निर्माण गर्नु अनिवार्य भएको बताउनु भएको छ ।
पूर्वप्रधानमन्त्री तथा एमालेका नेता माधवकुमार नेपालले अधिकार प्राप्तिको आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न समयमा संविधान जारी गारी आर्थिक विकासको बाटो खोल्नुपर्ने बताउनु भएको छ ।
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले असत्य वा खराबीमाथि विजय प्राप्त गरी देशमा संविधान निर्माण र समृद्धि स्थापना गर्न दसैँबाट महत्वपूर्ण प्रेरणा मिल्नेछ भन्ने कामना गर्नु भएको छ ।







