असोज १४ ।काठमाडौ,भावी संविधानका विवादित बुँदाहरुमा सहमति जुटाउने जिम्मेवारी पाएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आज अन्तिम पटक सहमतिको प्रयास गर्ने भएको छ ।
सहमति गर्ने बारेमा छलफल गर्न राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले आज दुई पक्षीय तथा बहुपक्षीय छलफल गर्दै हुनुहुन्छ ।
सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरुको र समितिको बैठक बसेर छलफल गरिनेछ ।
दुबै बैठकमा राज्यपुनर्संरचना, शासकीय स्वरुप, न्याय प्राणाली लगायतका विषयमा छलफल हुनेछ ।
गएको भदौ २१ गते भित्र सहमति गर्ने जिम्मा पाएको समितिले बिबादित बुदामा सहमति जुटाउन नसकेपछि असोज २ गतेको संविधानसभाले फेरि १२ दिनको समय दिएको थियो ।
तर यस अवधिमा छलफल भए पनि कुनै सहमति हुन सकेन । हिजोको राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा सभापति भट्टराईले आठ, नौं वा दस प्रदेशमा सहमति गर्नुपर्ने प्रस्ताव पेस गर्नु भएको थियो ।
आजको दुबै बैठकमा भट्टराईको प्रस्तावको बारेमा कुराकानी हुने भए पनि नेपाली काङ्ग्रेस र एमालेले उहाँको प्रस्ताव अस्वीकार गरिसकेका छन् । आजसम्ममा कुनै सहमति नभए यही २१ गतेभित्र विवादित विषय मतदानबाट टुङ्गो लगाउन प्रश्नावली बनाएर संविधानसभा पेस गर्न पनि समितिलाई संविधानसभाले निर्देशन दिइसकेको छ ।








