असोज ।काठमाडौ ८ । संविधानसभाको दोस्रो चुनावमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालासहित एक सय ८३ जनालाई कारबाहीको सिफारिस गरिएको छ । उनीहरूलाई अन्तर्घातको प्रकृति हेरी नियमावलीअनुसार सचेत गराउने, पदीय दायित्व नै रोक्नेसहितका कारबाही भएको स्रोतले जनाएको छ ।
कांग्रेस अनुशासन समितिले केन्द्रीय सदस्य, सभासद्, पूर्वमन्त्रीदेखि क्षेत्रीय सभापतिसम्मका व्यक्त्तिहरुले यस्तो पार्टी विपरित कार्य गरेको ठहर गरेको छ ।
अनुशासन समितिले मंगलबार कार्यबाहक सभापति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । केन्द्रीय समितिले अनुमोदन गरेपछि छानबिन समितिको सिफारिस कार्यान्वयनमा जानेछ । समितिले दोस्रो संविधानसभा चुनावमा भएको अन्तर्घातका विषयमा छानबिन गरेको थियो ।
छानबिन समितिले नेतृ कोइरालालाई बहाल रहेको पदीय दायित्व र जिम्मेवारीमा तीन महिनाको प्रतिबन्ध लगाएको छ । उनले मोरङ–१ का कांग्रेस उम्मेदवार आमोदप्रसाद उपाध्यायलाई हराउन भूमिका खेलेको छानबिन समितिको ठहर छ । उपाध्याय छानबिन समितिका पनि संयोजक हुन् ।
नेतृ कोइराला केन्द्रीय सदस्यसँगै पार्टीको विदेश विभाग प्रमुख पनि छिन् । उनी चुनावमा टिकट बाँड्ने संसदीय बोर्डको सदस्य र समानुपातिक सभासद् पनि हुन् ।
‘सुजाता कोइरालाले आफ्नै उम्मेदवारलाई हराउन अन्तर्घात गरेको ठहर भयो,’ स्रोतले भन्यो, ‘पार्टीको नियमावली ०६८ को नियम ४४ (१) ‘ख’ बमोजिम बहाल रहेको पदीय दायित्व र जिम्मेवारीअनुसार पार्टीको कामकारबाही गर्नबाट उनलाई तीन महिनाको प्रतिबन्ध लगाइएको छ ।’
पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको मोरङ–१ बाट सुजाताले लड्ने इच्छा गरे पनि पार्टीले उपाध्यायलाई उम्मेदवार बनाएको थियो । तर, कोइरालासहितका नेताले अन्तर्घात गरी उपाध्यायलाई हराएको ठहर गर्दै अनुशासन समितिले कारबाहीको सिफारिस गरेको हो ।
सुजाताविरुद्ध अडियो र भिडियो प्रमाण भेटिएपछि कारबाही गरिएको स्रोतले जनाएको छ । ‘सुजातासहित १०–१२ जनाले आमोदप्रसाद उपाध्यायलाई हराउन भूमिका खेलेको अडियो, भिडियोसहितका प्रमाणबाट पुष्टि भयो,’ स्रोतले भन्यो ।
उपाध्यायले केन्द्रीय समिति बैठकमा समेत आफूलाई पार्टीकै नेताद्वारा नै हराइएको भन्दै सुजातातर्फ संकेत गरेका थिए । कांग्रेस विधानमा अनुशासनविपरीत कार्य गरेमा ६ महिना निलम्बनदेखि तीन वर्षसम्म पार्टी सदस्यबाटै निष्कासन गर्न सक्ने प्रावधान छ ।
त्यस्तै, कारबाहीमा पर्नेमा एक सभासद्, एक पूर्वमन्त्री, क्षेत्रीय सभापति र महासमिति सदस्य पनि छन् ।
समानुपातिकतर्फका सभासद् गणेशप्रसाद बिमली पनि कारबाहीमा परेका छन् । स्रोतका अनुसार पार्टीभित्र उनलाई सभासद्बाटै फिर्ता बोलाउन दबाब सिर्जना भएको छ ।
‘बहाल रहेको पदीय दायित्वअनुसार काम–कामकारबाही गर्न नपाउने गरी एक वर्षसम्म पार्टीको क्षेत्रीय तहमा एक वर्षसम्म उम्मेदवार बन्न नपाउने गरी कारबाही गरिएको छ, केन्द्रीय सदस्य हुन् वा कांग्रेसबाट सभासद् भएका नै किन नहुन् उनीहरू कांग्रेसबाटै कारबाहीमा परेकाले पार्टीले सभासद्बाट पनि फिर्ता बोलाउनुपर्छ,’ स्रोतले भन्यो ।
त्यस्तै, बिपी संग्रहालयका अध्यक्ष पर्शुराम पोखरेललाई पनि कारबाहीको सिफारिस गरिएको छ । उहाले काठमाडौं-३ का उम्मेदवार चक्र ठकुरीलाई हराउन भूमिका खेलेको छानबिन समितिको ठहर छ । पोखरेललाई एक वर्षसम्म क्रियाशील सदस्यताबाट निष्कासित गरिएको छ ।
त्यस्तै, पूर्वमन्त्री सुशीला स्वाँरलाई तीन महिनासम्म पार्टीको पदीय दायित्वबाट निलम्बन गरिएको छ ।
कैलाली–१ का कांग्रेस उम्मेदवार डा. रणबहादुर रावललाई हराउन भूमिका खेलेको भन्दै उनलाई कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा केही बहालवाला क्षेत्रीय सभापतिसमेत छन् ।
पार्टीमा परेका उजुरीका आधारमा छानबिन समितिले समानुपातिकतर्फको सूचीमा रहेका ३१ उम्मेदवारमाथि छानबिन गरेको थियो ।
४९ जिल्लाका ८६ निर्वाचन क्षेत्रमा रहेका पाँच सय २१ नेता–कार्यकर्ताविरुद्ध अन्तर्घातको उजुरी परेको थियो ।
करिब तीन सय ५० जनाविरुद्धको उजुरी खारेज गरिएको छ । समितिले उजुरीमाथि कारबाही, मिलापत्र र खारेजी गरी तीन प्रक्रियाबाट कारबाही गरेको थियो ।
पार्टी विधानको धारा ३४ को उपधारा ३ मा अनुशासन समितिको निर्णय चित्त नबुझे कारबाहीमा पर्ने सदस्यले कारबाही सूचनाको ३५ दिनभित्र केन्द्रीय कार्यसमितिमा पुनरावेदन दिन सक्नेछन् । केन्द्रीय समितिले गर्ने निर्णय अन्तिम हुनेछ ।
नेत्री सुजाताले यो आरोप लगाउने कुरा मात्रै भएको भन्दै आफ्नै बाबु गिरिजाबाबुको क्षेत्रमा आफ्नै उम्मेदवारलाई हराउन आफुले कहिल्यै त्यस्तो नगरेको दावी गर्नु भएको छ ।








