उपाध्यक्ष बोगटीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर

भदौ २९ ।काठमाडौँ,उपचारमा सङ्लग्न चिकित्सकहरुको भनाई अनुसार एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्यस्थिति अत्यन्तै गम्भीर रहेको छ ।

हाल उहाँलाई कृत्रिम श्वासप्रश्वास यन्त्र(भेन्टिलेटर)मा राखी रक्तचाप अपेक्षितस्तरमा कायम राख्ने औषधिका साथ अन्य जीवनदायी औषधि दिइएको जनाइएको छ ।

प्रधानमन्त्री सुशील कोइराला आज अस्पताल पुगेर उहाँको उपचारमा कुनै पनि कन्जुस्याई नगर्न निर्देशन दिनुभएको छ ।

नर्भिक अस्पतालका तर्फबाट नायब महाप्रबन्धक आरपी मैनालीले जारी गर्नुभएको विज्ञप्तिमा उहाँको जटिल स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पारिवारिक एवम् पार्टीगत सल्लाह तथा उपचारमा सङ्लग्न चिकित्सकको रायअनुसार जीवनरक्षाका लागि परम्परागत र जीवनदायी औषधोपचार मात्र अपनाउनु उपयुक्त हुने जनाउनुभएको छ ।

उपाध्यक्ष बोगटीलाई भदौ २६ गते अचानक एकैपटक हृदयाघात र मस्तिष्कघात भएपछि गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको र भदौ २७ गते अपराह्न नर्भिक अस्पतालमा लगिएको थियो ।

उहाँको मतिस्कको देव्र भागमा बृहद रक्तस्रावसहित रगत जमेको र हाल उहाँको शरीरको दाहिने भागमा पक्षाघात भएको छ । उहाँको उपचारमा वरिष्ठ हृदयरोग विशेषज्ञ यादवदेव भट्टको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले सुक्ष्म निगरानीमा राखेको छ ।

उपाध्यक्ष बोगटीको उपचारमा के गर्ने त भन्ने सन्दर्भमा निर्णय गर्न विशेषज्ञ टोलीसहित एमाओवादी शीर्ष नेतृत्वबीचमा अस्पतालमा छलफल भएको थियो ।

चिकित्सक टोलीले नयाँ दिल्लीस्थित मेदान्त अस्पतालका चिकित्सकहरुबीच पनि छलफल गरेको बताइएको छ ।

मेदान्तका चिकित्सकले नर्भिकले गरेको उपचार पद्धति नै आफूहरुले पनि अपनाउने जानकारी गराएको बुझिएको छ ।
उपाध्यक्ष बोगटीको स्वास्थ्यलाभको कामना गर्दै एमाओवादी नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति अस्पताल परिसरमा रहेको छ ।

सम्बन्धित शिर्षकहरु