‘राष्ट्रिय राजनीतिक सभा’को आयोजना गर्न दहलरु सहमत

काठमाडौँ,संविधानसभा बाहिर रहेको नेकपा-माओवादीलगायतका राजनीतिक दललाई संविधान निर्माणमा सहभागी गराउन ‘राष्ट्रिय राजनीतिक सभा’को आयोजना गर्न प्रमुख तीन दल सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साँझ बसेको नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी र नेकपा–माओवादीका शीर्ष नेताको बैठकले नेकपा-माओवादीको प्रस्तावअनुसार ‘राष्ट्रिय राजनीतिकसभा’को आयोजना गर्न चार दल सम्मिलित कार्यदल गठनसमेत गरेको छ ।
बैठकपछि एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधानसभाको विद्यमान कार्यतालिका प्रभावित नहुँने गरी राजनीतिकसभा गर्न आफ्नो दलको सहमति भएको बताउनुभयो । संविधानसभाको संवैधानिक राजनीतिक सहमति संवाद समितिले संविधानका अन्तरवस्तुमा सहमति-असहमतिसहितको प्रतिवेदन बुझाउन यही भदौ २१ गतेसम्मको समय दिएको छ ।

कार्यदलमा काँग्रेसका कृष्णप्रसाद सिटौला र नरहरि आचार्य, नेकपा एमालेका भीम रावल र अग्नि खरेल, एमाओवादीका कृष्णबहादुर महरा र खिमलाल देवकोटा तथा नेकपा-माओवादीका पम्फा भूषाल र देव गुरूङ रहनुभएको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यदलले संविधान निर्माणका विषयमा घनिभूत छलफल गरी केही दिनभित्र चार पार्टीको शीर्ष नेता समक्ष प्रतिवेदन बुझाउने छ । सभाको आयोजनाको मिति तोक्ने कार्य भोलिसम्म पूरा गर्ने पनि श्रेष्ठले बताउनुभयो ।

आजको बैठकमा संविधान निर्माणका लागि प्रमुख दलबीच सकारात्मक छलफल भएको उहाँले बताउनुभयो ।

बैठकमा सहभागी काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले भदौ २१ गतेको कार्यतालिका अघि नै राजनीतिक सभा हुने सम्भावना कम देखिए पनि सहमति गराउन अन्तिम समयसम्म प्रयास गरिने बताउनुभयो ।

नेता आचार्यले संविधानका अन्तरवस्तुका विषयमा सभा बाहिर रहेका माओवादीलगायतका दलको भनाई के हुन् भन्ने सम्बन्धमा बुझेर आगामी बैठकमा छलफल अगाडि बढाइने जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षकहरु