भदौ १३ ।दार्चुला,बाख्रा चराउन जाँदा वेपत्ता भएका दार्चुलाको दत्तु गाविस वडा नं ५ थाप्लाका ५२ वर्षीय नरसिंह धामीको अस्थिपञ्जर फेला परेको छ ।
गाविसकै भगवतीको बालशिखरसँग जोडिएको धुराकीखाली जङ्गलमा बुधबार बेलुकीतिर स्थानीय बासिन्दाले नेपाली सेनाका पुर्व जमदार समेत रहेका धामीको अस्थिपञ्जर भेटाएका हुन् ।
घाँस काट्न वनमा गएका केही महिलाले कपडा, टोपी, चप्पल तथा हड्डी देखेपछि गाउँमा खबर गरेका थिए ।
स्थानीय बासिन्दाले बेपत्ता धामीले लगाएका कपडाको आधारमा उनकै अस्थिपञ्जर भएको पहिचान गरी प्रहरीलाई खबर गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी दत्तुबाट घटनास्थलमा गएको प्रहरी टोलीले बिहीबार उक्त अस्थिपञ्जरको मुचुल्का उठाएपछि आफन्तजनले अन्त्येष्टि गरेका छन् ।
आफन्तको कसैप्रति शङ्का नभएपछि अन्त्येष्टि गरिएको प्रहरी निरीक्षक मङ्गलबहादुर चन्दले बताउनुभयो ।
बाख्रा चराउन गएका बेला बेपत्ता भएका धामी नेपाली सेनाका अवकाशप्राप्त जमदार हुन् ।








