भदौ ६ । काठमाडौं, संविधानसभामा प्रतिनिधित्व गर्ने साना ३१ दलका नेताहरुले यातायात सुविधा गाडी माग गरेका छन ।
यातायात सुविधा अन्तर्गत सरकारले दिएको २० हजार रुपैयाँ कम भयो भन्दै साना दलका नेताले गाडी सुविधा माग गरेका हुन ।
साना दलका नेताहरुले सभामुखलाई भेटेरै आफूहरुलाई संसद सचिवालयबाट गाडी उपलव्ध गराउन दबाव दिइरहेका छन् ।
सरकारले मन्त्रिपरिषदबाट निर्णय गराएर साउन महिनादेखि एकमात्र सभासद भएको दलका नेतालाई समेत यातायात सुविधा वापत थप २० हजार उपलब्ध गराएको हो ।
संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दलमध्ये १२ दलका एकजना मात्र सभासद छन् भने चार दलका दुई/दुई सभासद छन् ।
व्यवस्थापिका संसदमा विभिन्न समितिका सभापतिका साथै विपक्षी दलका नेता र सचेतकहरुले गाडी सुविधा पाउने गरेका छन् ।
साना दलका नेतालाई भने सरकारी गाडी सुविधा उपलब्ध छैन । तर, प्रत्येक सभासदले पाउने यातायात खर्च र दैनिक भत्ताबाहेक सबै दल संसदीय नेतालाई साउनदेखि थप २० हजार यातायात खर्च दिन थालिएको हो ।
सर्वोच्च अदालतले नियम बनाएर मात्र सुबिधा दिनु भन्ने आदेश करीव ३ वर्षअघि नै दिएपछि सरकारले गाडी सुविधा दिएका अधिकांश पूर्वप्रधानमन्त्री सहितका नेताहरुले फिर्ता गरेका थिए ।
प्रधानमन्त्री सुशील कोइराला र प्रमुख विपक्षी दलका नेता प्रचण्ड र विभिन्न समितिका सभापति बाहेक अन्यले गाडी सुविधा नपाउने भएपछि साना दलका नेताहरुको दबावमा सरकारले मन्त्रिपरिषदबाट निर्णय गराई २० हजार रुपैयाँ उपलव्ध गराएको स्रोतले जनाएको छ ।
साना दलका नेताले भने आफूहरुले पैसा होइन, गाडी सुविधा मागेको बताएका छन् । समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहले गाडी चालकका लागि भनेर २० हजार दिने सरकारले गाडी पनि उपलब्ध गराउनुपर्ने बताए ।
अखण्ड नेपाल पार्टीका सभासद कुमारबहादुर खड्काले संसदको नियमावली अनुसार सबै संसदीय दलका नेता संसदका पदाधिकारी हुने भएकाले अरु पदाधिकारी सरह गाडी माग गरेको बताउनु भयो ।
केही साना दलका नेताहरुले गाडी चाहियो भन्दै संसद सचिवालयका पदाधिकारीलाई समेत दबाव दिइरहेका छन् । तर, संसद सचिवालयको सांसद सुविधा शाखाका प्रमुख बालकृष्ण सुवालले भने सरकारले निर्णय गरेर यातायात सुविधा दिए पनि गाडी सुविधाको कुनै निर्णय नभएको बताउनु भयो ।
कांग्रेसका प्रमुख सचेतक र सचेतकले समेत थप सुविधा पाएको भन्दै साना दलका नेताहरुले गाडी मागेका हुन् । कोइराला सरकारमा मन्त्री नपाएर असन्तुष्ट बनेका साना दललाई फकाउन सरकारले यातायात सुविधा भनेर २० हजार दिएको स्रोतले जनाएको छ ।
गाडी चालकका लागि भनेर २० हजार दिएपछि गाडी पनि दिनुपर्ने भन्दै साना दलले सामुहिक रुपमा गृहमन्त्री वामदेव गौतमको ध्यानाकर्षण गराउने बताएका छन् ।
संसदीय व्यवस्था मन्त्री नरहरी आचार्यले सबै सुविधा उपलव्ध गराउने र साना दलका संसदीय कार्यालय व्यवस्थित गर्ने भने पनि आफूहरुलाई आचार्यले ढाँटेको उनीहरुको गुनासो छ ।
तत्कालीन प्रधानमन्त्री माधव नेपालका पालामा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई गाडी र चालकका साथै इन्धन सुबिधासमेत दिएको थियो । पछि सर्बोच्चले कानुन बनाएरमात्र दिनुपर्ने भनेपछि सचिवालयले गाडी फिर्ता लिएको थियो ।
विद्युत् चोरी गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
भदौ ६ ।सर्लाही,विद्युत् ‘हुकिङ’गरेर चोरी गर्ने क्रममा सर्लाहीको नोकेल्वामा एक युवकको मृत्यु भएको छ ।
बिजुलीको पोलबाट हुकिङ गरी घरमा विद्युत् लाइन तान्न खोज्दा करेन्ट लागेर आज नोकेल्वा-६ का २० वर्षीय दीपेश यादवको मृत्युभएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउँदै गर्दा बाटैमा मृत्युभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक वीरेन्द्रकुमार ठाकुरले जानकारी दिनुभयो।








