भदौ १, काठमाडौँ – नुवाकोटको भैरवी मन्दिरमा रहेको मुख्य मुर्ति र गहना शनिवार राति चोरी भएको छ । जिल्लाको प्रमुख धार्मिक स्थल भैरवी मन्दिरवाट मन्दिरको मूर्ती र गहना चोरी भएको हो ।

विदुर नगरपालिका ३ मा रहेको भैरवी मन्दिरमा लगाइएको भोटे ताल्चा फोडेर मन्दिर चोरी भएको बताइएको छ । मन्दिरमा रहेका अष्टमात्रिका र गणहरुको १२ मूर्तिमध्ये मुख्य भैरवीको मूर्ती र मूर्तीमा लगाइएको मुकुटका साथै चादीका सिक्री चोरी भएको हो ।
मुर्ति र गहनाको साथमा भैरवी भजन मण्डलीको सहयोगार्थ राखिएको दान पेटीका समेत चोरी भएको छ । नेपाल विद्युत प्राधिकरणले त्रिशूली सवस्टेसनमा रहेको ट्रान्सफरमर मर्मतका लागि विद्युत वन्द गरेको समयमा मन्दिरवाट मूर्ती र मुकुट चोरी भएको हो ।
करिव पाँच सय वर्ष पुरानो मन्दिरको रुपमा रहेको भैरवी मन्दिर देशका प्रमुख शक्ति पीठ मध्ये एक हो ।
२०५८ मा तत्कालीन राजा वीरेन्द्रले मन्दिरवाट पुरानो मुकुट हटाई नयाँमुकुट राख्न लगाएका थिए ।
नुवाकोट दरवार हेरचारका लागि राखिएको भैरवी सुरक्षा वेस क्याम्पबाट करिव साठी मिटरको दुरीमा रहेको मन्दिर चोरी भएपछि स्थानीयवासी रुष्ट छन् । नुवाकोट क्षेत्रमा रहेका धार्मिक तथा पुरातात्विक महत्वका वस्तुहरु सुरक्षाका लागि नेपाल प्रहरी र नेपाली सेनाको टुकडी छ ।
घटना शंकास्पद रहेको सहायक प्रमुख जिल्ला अधिकारी तीर्थवहादुर अधिकारी बताए । मन्दिर चोरी भएपछि प्रहरीले मूर्ती र गहना खोजी कार्य तीव्र पारेको छ ।








