एसिसी यु–१६ प्रिमियर क्रिकेटमा नेपालको लगातार तेस्रो जित: तेस्रो खेलमा ओमानलाई १०२ रनले हरायो

भदौ १, काठमाडौँ- मलेसियामा जारी एसिसी यु–१६ प्रिमियर क्रिकेटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ। मलेसियाको रोयल सेलङ्गर क्लबमा आज सम्पन्न तेस्रो खेलमा नेपालले ओमानलाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरको खेलमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। १६५ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको ओमानले २९ ओभमा अल आउट हुँदै ६२ रनमा समेटिएको थियो। नेपालका लागि जितेन्द्र सिंहले सर्वाधिक ३२ रन बनाएका थिए।

नेपाली इनिङ्समा आशिफ शेख र प्रनित थापाले मात्र १–१ चौका प्रहार गरेका थिए। उपकप्तान आशिफ १२ र प्रनित १६ रनमा आउट भए।

नेपालबाट अन्य खेलाडीमा शुशान्तसिंह थापाले १७, रवि शाहले ९, रवीन्द्र जंग शाहले २५, कप्तान सुमित महर्जनले १४, पवन सर्राफले ८ र अनिल खरेलले ३ रन जोडे। विजय चौधरी र आशिष पोखरेल खाता नखोली आउट भए। ओमानका हितेश कुमारले ५ र महेश कुमारले २ विकेट लिए।

प्रतियोगितामा सहभागी ६ टोलीले राउन्ड रोबिनमा एकअर्कासँग खेल्ने छन्। त्यसैबाट विजेता छानिने छ।

नेपालले थाइल्यान्डलाई १० विकेट र सिंगापुरलाई ४९ रनले पराजित गरेको थियो। यसअघि एसिसी यु–१६ को नामले आयोजना हुन्थ्यो।

सम्बन्धित शिर्षकहरु