नक्कली बैँक प्रबन्धक बनेर आठ लाख ठग्ने पक्राउ

साउन १० ।कञ्चनपुर, बैंक प्रबन्धक बनेर रु आठ लाख ठगी गर्ने बाँकेका कृष्णप्रसाद सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले हिजो महेन्द्रनगरको एक होटलबाट सुवेदीलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरले सुवेदीसहित श्रीमती सीता र छोरी कवितालाई बिहान होटेल गङ्गोत्रीबाट पक्राउ गरेको छ ।

प्रहरीले सुवेदीबाट रु छ लाख ७० हजार नगदसमेत बरामद गरेको छ । बाँके नेपालगन्जका तेन्डी शेर्पालाई कुमारी बैंकको प्रबन्धक भएको बताउँदै अर्काको जग्गा देखाएर सुवेदीले रु आठ लाख ठगी गरेको प्रहरी निरीक्षक पुष्करबहादुर चन्दले बताउनुभयो । शेर्पाले सुवेदीविरुद्ध बाँके प्रहरी कार्यालयमा उजुरी गरेका थिए । उजुरीका आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरले सुवेदीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई बाँके प्रहरीको जिम्मा लगाइने भएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु