बजेटमा आफुहरुलाई उपेक्षा गरिएको भन्दै महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरे आन्दोलनको घोषणा

असनेपाल न्युज सम्बाददाता/

साउन ७, काठमाडौँ- स्वास्थ्य ,मन्त्रालय अन्तर्गत सबैभन्दा धेरै संख्यामा देश भर कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाले सरकारको बजेटमा आफ्ना माग नसमेटिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

नेपाल स्वास्थ्य स्वयंसेवी संघले बुधवार रिपोर्टर्स क्लव नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले यही साउन २३ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका हुन ।  जस अनुसार माग पुरा नभए साउन २३ गते स्वास्थ्य मन्त्रालयमा धर्ना गरिने र भदौ ५ गते स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय घेराउ गरिने कार्यक्रम घोषणा गरिएको छ ।

आन्दोलनका लागि स्वंयसेविकाहरुले ९ सुत्रीय माग अघि सारेका छन् ।  उनीहरुका मागमा वार्षिक भत्ता २४ हजार रुपैयाँ, सेवा छाड्दा काम गरेको प्रत्येक वर्षको १० हजार रुपैयाँका दरले एकमुष्ट रकम, स्वास्थ्य विमा, पोशाक भत्ता १५ हजार, चाड खर्च १० हजार रुपैयाँलगायत छन् ।

संघकी उपाध्यक्ष सावित्री मैनालीले बजेटमा माग संबोधन नभएमा सडक तताउने बताउदै भनीन,‘सरकारले हाम्रो पिडा अझै बुझेन ।’ संघकी महासचिव गिता थिङले कहिलेकाँही कुनै तालीम गोष्ठीमा प्रदान गरिने २ सय रुपैयाँ भत्तामा समेत भ्याट कटौती गर्ने गरिएको बताउनुभयो ।  गाउँ गाउँमा पुरुषको साटो महिला खटाउँदा प्रभावकारी हुने ठहर गर्दै २०४५ सालदेखी सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको व्यवस्था गरेको हो । हाल उनीहरु  भिटामिन ए, पोलीयो थोपा र आइरन चक्की खुवाउने तथा बाल रोग, एकिकृत व्यवस्थापन, मातृ सुरक्षा चक्की, कण्डोम, पिल्स र पुनर्जलीय प्याकेट वितरण गर्ने मात्र हैन, प्राथमिक उपचार, गर्भवती तथा सुत्केरी महिलाको स्याहार, क्षयरोग, कुष्ठरोग, औलो, खोप, पोषणलगायत सरकारका ८१ वटा कार्यक्रममा संलग्न छन् ।

सम्बन्धित शिर्षकहरु