असार २६ ।काठमाडौँ, नेकपा एमालेको नयाँ नेतृत्वका लागि वारीष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीले आज उम्मेदवारी दर्ता गर्नुभएको छ ।
नयाँ नेतृत्वका लागि नेपाल र ओलीले प्यानलैसहित प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
नवौं महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्यासी नेपालको प्रस्तावकमा नितेशनन्दन मिश्र र समर्थकमा रामकुमार भट्टराई तथा
ओलीको प्रस्तावकमा कृष्णगोपाल श्रेष्ठ र समर्थकमा डा. राजन भट्टराई रहनुभएको छ ।
ओली समूहले उपाध्यक्षमा वामदेव गौतम, विद्यादेवी भण्डारी, प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथ शाहलाई उठाएको छ । महासचिवमा ईश्वर पोखरेल यसअघि नै घोषित भइसक्नुभएको छ ।
उपमहासचिवमा विष्णु पौडेल र शङ्कर पोखरेल तथा सचिवमा प्रदीप ज्ञवाली, विष्णु रिमाल, केशवलाल श्रेष्ठ, पृथ्वी सुब्बा गुरुङ र रघुवीर महासेठ उठ्नुभएको छ ।
नेपाल समूहले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, लालबाबु पण्डित र एक स्थानलाई खाली राखी घोषणा गरेको छ ।
रिक्त एक उपाध्यक्षमा अध्यक्ष झलनाथ खनालसँग परामर्श गरेर परशुराम मेघी गुरुङ वा राजेन्द्र पाण्डेलाई उम्मेदवार बनाउने तयारी भएको छ ।
यस्तै महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा रघुजी पन्त र घनश्याम भुसाल तथा सचिवमा वेदुराम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्यको नाम तय भएको छ भने बाँकी एक सचिवमा प्रकाश ज्वाला वा श्रीमाया थकालीले उठ्ने सम्भावना छ ।
उम्मेदवारी मनोनयनका लागि बिहान १० देखि २ बजेसम्मको समय छुट्टयाइएको छ भने उम्मेदवारहरुको अन्तिम नामावली साँझ ७ बजे प्रकाशित हुनेछ ।
हिजो पारित भएको संशोधित विधान अनुसार एमाले केन्द्रीय कमिटी पन्ध्र पदाधिकारीसहित एक सय ५९ सदस्यीय हुनेछ ।
एमालेमा अब अध्यक्षसहित पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव छानिनेछन् ।
पाँच उपाध्यक्षमा दुई खुल्ला तीन आरक्षित कोटाबाट छानिनेछन् । महिला, जनजाति र मधेशीबाट एक, एक उपाध्यक्ष छानिने विधान बनाइएको छ ।
निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ नेताको हैसियतमा रहने छन् भने कोषाध्यक्ष केन्द्रीय कमिटीले चयन गर्ने छ ।
यसैबीच, अध्यक्षका प्रत्यासी नेपालले आफ्नो प्यानल सार्वजनिक गर्नु भएको छ । महाधिवेशनस्थल नजिकैको एक पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरी नेपालले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल र लालबाबु पण्डितको नाम घोषणा गर्नु भएको छ । एक उपाध्यक्षमा भने नाम तय हुन बाँकी छ । त्यस्तै, नेपाल प्यानलबाट सुरेन्द्र पाण्डेले महासचिवमा तथा रघुजी पन्त र घनश्याम भुसालले प्रतिस्पर्धा गर्नुहुने भएको छ ।
त्यस्तै, सचिवमा वेदुराम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य उम्मेदवार बन्नुहुने भएको छ । सचिवमा पनि एक जना उम्मेदवारको नाम घोषणा गरिएको छैन । घोषणा हुन बाँकी रहेका पदमा अध्यक्ष झलनाथ खनालसँग छलफल गरेर नाम तय गरिने नेपाल पक्षले जनाएको छ । नेपाल पक्षबाटै उपाध्यक्षको उम्मेदवारमा चर्चामा आएका राजेन्द्र पाण्डेको नाम भने समेटिएको छैन ।
त्यसैगरी एमाले महाधिवेशनका लागि ओली समूहबाट उपाध्यक्षमा बामदेव गौतम, विद्या भण्डारी, प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथ प्रसाद साहलाई अघि सारिएको छ ।
महासचिवमा इश्वर पोखरेल र उपमहासचिवमा बिष्णु पौडेल तथा शंकर पोखरेलको नाम अघि सारिएको छ। ।








