असार २४ ।काठमाडौँ,एकीकृत नेकपा माओवादी लगायत सात दलको बैठकले संविधान निर्माणमा सहज वातावरण तयार पार्नका लागि कार्यसूची मिल्ने दलबीच सहमति कायम गर्ने निर्णय गरेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको सात दलको बैठकमा पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माणका लागि अपनाउनुपर्ने विषयमा सात राजनीतिक दल सहमति नजिक पुगेका हुन ।
आजको बैठकमा सङ्घीय प्रणाली, न्यायापालिका, शासकीय स्वरुप र निर्वाचन प्रणालीको विषयमा सहमति नजिक पुगेको सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
राज्य पुनःसंरचना गर्दा बढीमा १४ र घटीमा १० प्रदेश पहिचानका आधारमा निर्माण गर्नुपर्ने, न्यायपालिकालाई सङ्घीय न्यायापालिकाको संज्ञा दिनुपर्ने, समावेशी– समानुपातिक प्रतिनिधित्वलाई व्यावहारिक रुपमा नै आत्मसात् गर्नुपर्ने विषयमा समान धारणा बनाइएको हो ।
यस्तै बैठकले कार्यसूची मिल्ने संविधानसभाभित्रका अन्य दल र संविधानसभा बाहिरका अन्य दलसँग पनि मिलेर काम गर्ने निष्कर्ष निकालेको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।
‘संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा’ नाम दिइने सो गठबन्धनमा व्यवस्थापिका–संसद्मा रहेका सात प्रतिपक्षी दलको सहभागिता रहने जनाइएको छ । आजको बैठकमा एमाओवादी, मधेसी जनअधिकार फोरम नेपाल, फोरम (लोकतान्त्रिक), , तराई –मधेस लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी पार्टी, सद्भावना पार्टी र तराई -मधेस सद्भावना पार्टीका शीर्ष नेतृत्वको सहभागिता थियो । मोर्चाले यही असार २६ गते पत्रकार सम्मेलन गर अवधारणापत्र सार्वजनिक गर्ने भएको छ ।








