सुन्दर शिरीष
चौतारा २९। असार, सिन्धुपाल्चोकको बतासे– १ स्थित भोटेफुल्पिङमा अज्ञात रोगका कारण ३ को मृत्यु भएको छ । सोहि अज्ञात रोगबाट सयौंको संख्यामा विमारी भएका छन् ।
भोटेफुल्पिङमा मात्रै दुईसय भन्दा बढि स्थानीय रोगकाकारण विरामी भएको स्थानीयले बताएका छन् । यत्रो संख्यामा बिरामी र मृत्यु हुँदासम्म सो रोग के हो भन्ने पत्ता लाग्न सकेको छैन । दुई साता अघिदेखि गाउँभरी फैलिएको यो रोगले अहिले स्थानीय त्रसित छन् ।
सुरुमा वाकवाक लाग्ने, उच्च मात्रामा ज्वारो आउनेजस्ता लक्षण देखिएको बिरामीहरुको भनाई छ । वाकवाक लागेको र रोगको लक्षण देखिएको एक साता भित्र विरामीको मृत्यु हुने गरेको स्थानीय बताउँछन् ।
रोगले महामारीको रुप लिएका कारण केहि स्थानीयहरु गाउँनै छोडेर अन्यत्र गएको बतासेका स्थानीय मिलन तामाङले जानकारी दिए । अहिले यो रोग लागेका केहि बिरामीहरुले धुलिखेल अस्पताल, बी एण्ड बी अस्ताल, चौतारा अस्पताल, ठिमी अस्पताल लगाएतका अस्पतालहरुमा उपचार गराईरहेका छन् ।
मध्यपूर ठिमीमा उपचार गराईरहेका प्रताप तामाङका अनुसार गाउँमा रोगको लक्षण देखिएको दुई हप्ता भईसकेको छ । गाउँका ९० प्रतिशतमा यो रोग देखिसकिएको उनले जानकारी दिए । ‘जति औषधी खाएपनि रोग निकोहुने छाँटकाट देखिएको छैन’, उनले टेलिफोन कुराकानीमा भने– ‘डक्टरहरुले पनि रोग पत्ता लगाउन सकेका छैनन् ।’ उनले आपूm पनि मर्छुजस्तै लागिसकेको सुनाए । गाउँमा सबैलाई यो रोग लागेका कारण उनीहरुलाई मर्नबाट जोगाउन तामाङले सरकारलाई अनुरोध गरे । रोगले महामारीको रुप लिईसकेकाले बेलैमा सरोकारवालाहरुले चासो नदिए भोली ठूलै विपत्तिको सामना गर्नुपर्ने उनले औंल्याए ।
भोटेपूmल्पिङमा अज्ञात रोग फैलिएपछि जिल्ला अस्पतालको एउटा टोली केहि दिन अघि गाउँ पुगेको थियो । डा. रोशन भगतको संयजकत्वमा गएको चिकित्सकको टोलीले गाउँका १ सय २५ को उपचार गरी फर्किएको थियो । चिकित्सकहरुको टोलीले सो गाउँका आधाजसोमा झाडापखाला र रुघाखोकीको बिरामी रहेको जनाएको थियो । तर अहिले त्यस ठाउँमा महामारी फैलिएको छ । चिकित्सकको टोलीले उपचार गरेको केहिको मृत्युसमेत भईसकेको छ ।
सो स्थानबाट चौतारा अस्पतालमा आएका विरामीहरुको उपचार गरिरहेका डा. विप्लव घिमिरेका अनुसार जनचेतनाको कमीको कारण सो रोग फैलिएको जाानकारी दिए । ‘दुषित पानीका कारण रोग फैलिएको त्यहाँ पुगेको चिकित्सकको टोलीको निष्कर्ष छ’, उनले भने– ‘स्थानीय आफैंले हेलचेक्राई गर्दा यस्तो समस्या उत्पन्न भएको हो ।’ पानी उमालेर नखानुनै रोगलाग्नुको प्रमुख कारण भएको उनले बताए ।
स्वास्थ्य विभागको टोली समेत रोग फैलिएपछि सो गाउँ पुगेको छ । उनीहरुले पीउँने गरेको पानी परीक्षण गर्न सो टोली भोटेफुल्पिङ लगिएको जिल्ला अस्पतालले जनाएको छ । पानी परीक्षण गर्न केहि दिन लाग्ने भएकोले सो रोगको बारेमा पूर्ण एकिन गर्न नसकिएको अस्पतालले जनायो ।
यता नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकले भूकम्प पछिको सरसफाईमा ध्यान नदिँदा सो रोग फैलिएको जनाएको छ । ‘शौचालय व्यवस्थित नहुनु पनि रोग फैलनुको एउटा कारण हो’, रेडक्रस जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभँडेलले भने– ‘भूकम्प पछि जिल्लामा रहेका थुप्रै शौचालयका ट्याङ्की फुटेर त्यहाँको दिसा पानीमा मिसियो जसका कारण रोग फैलियो ।’ सो रोगलाई अन्यत्र सर्न नदिन जनचेतना गराउनु पर्ने उनले बताए । ‘त्यसका लागि हामीले एउटा स्वास्थ्य टोलीको निर्माण गरेका छौं’, उनले भने– ‘तत्काल सो स्थानमा गएर काम गर्न सुरु गछौं ।’ टोलीलाई सोमबार तालिम समेत दिईएको उनले बताए ।
पानीकै कारण रोग फैलिएको रेड क्रिसेण्ट अफगानिस्तानका चिकित्सक डा. शैलभको पनि भनाई छ । ‘पानीलाई किटाणुरहित बनाएर प्रयोग गराउन सकियो भने रोग फैलन कम हुन्छ’, उनले भने– ‘त्यसका लागि स्वास्थ्य टोली तत्कालै सो स्थानमा गई पानी शुद्ध बनाउन सहयोग गर्नुपर्दछ ।’ नत्र यसले ठूलो महामारीको रुप समेत दिन सक्ने उनको भनाई छ ।








