मौसमी हावा तीन चार दिनसम्म नरोकिने

असार ७ ।काठमाडौँ,मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी भागबाट मौसमी हावा प्रवेश गरिसकेको भए पनि त्यसको गतिविधि सक्रिय भई देशभर प्रभाव पार्न अझै तीन-चार दिन लाग्ने जनाएको छ ।

वरिष्ठ मौसमविद् शिव नेपालका अनुसार पश्चिमी वायुको प्रभाव कमजोर हुँदै अरब सागरको प्रभाव बढेपछि नेपालको पूर्वी भागबाट प्रवेश गरेको वायु मौसमी हावा हो ।

सामान्यतया जेठ २७ तिर सुरु हुनुपर्ने मौसमी हावा करिब १० दिनपछि सुरु भएको हो ।

सो वायुले बङ्गालको खाडी, बङ्गलादेश, भारतको उत्तरपूर्वी भाग हुँदै देशको पूर्वी भागबाट प्रवेश गरी करिब ११० दिन (सेप्टेम्बर २३) सम्म गतिविधि सञ्चालन गर्ने र सो अवधिमा दक्षिण एसिया क्षेत्र तथा म्यान्मालगायतमा मनसुनका गतिविधि बढी देशको सम्पूर्ण भागमा वर्षा हुने गर्छ ।
सो गतिविधिपछि हुने वर्षाले नेपालमा धानखेतीका लागि उचित वातावरण सिर्जना गर्छ ।

महाशाखाका अनुसार केही दिनयता पहाडी भेगमा बदली भई छिटफुट वर्षा हुँदै आएकामा तराई क्षेत्रमा पनि वर्षाको सम्भावना छ । काठमाडौँ उपत्यकाको आकाशमा पनि बिहानैदेखि बदली भई छिन छिनमा वर्षा भएको छ । आइतबार पनि बर्षा जारी रहने छ ।

सम्बन्धित शिर्षकहरु