वैशाख २७ । काठमाण्डौ,इकमर्स साइट अलिबाबाका संस्थापक एवं चिनियाँ अर्बपति ज्याक मा ले नेपालका भूकम्प पीडितका लागि एक हजार घर बनाइदिने वचन दिनु भएको छ ।अमेरिकी पत्रिका फोर्ब्सले प्रकाशित गरेको समाचार अनुसार ज्याकले नेपालका अर्बपति बिनोद चौधरीको संस्था चौधरी फाउण्डेसनसँग मिलेर एक हजार घर बनाइदिने बताउनु भएको हो । ज्याकले १ हजार घरका लागि रकम दिने र आफ्ना १० जना उच्च पदस्थ कार्यकारीहरुलाई नेपाल पठाउने बताउनु भएको छ ।
हालै मात्र चौधरीले आफ्नो संस्थामार्फत् एक हजार र अन्य संस्थासँग मिलेर बाँकी नौ हजार गरी कूल १० हजार घर निर्माण गर्ने घोषणा गर्नु भएको थियो । सोही बमोजिम उहाले आफ्ना विश्वभरका अर्बपति साथीहरुलाई नेपालमा सहयोगका लागि अपिल गरेका थिए । चौधरीको आग्रह स्वीकार्दै ज्याकले एक हजार बनाइदिने प्रतिबद्धता जनाएका छन् भने भारतीय मूलका इण्डोनेसियाली अर्बपति श्रीप्रकाश लोहियाले पनि एक हजार बनाइदिने प्रतिबद्धता जनाएका छन् ।







