वैशाख २० । काठमाडौं,अन्तराष्ट्रिय सञ्चार माध्यम आरटिई न्यूजले नेपालमा भूकम्पबाट १ हजार जना युरोपेलीहरु हराइरहेको र १२ जनाले ज्यान गुमाएको जनाएको छ ।नेपालमा अहिले २ देखि ३ हजार जना अमेरिकी नागरिकहरु स्थायीरुपमा बसोबास गर्दै आएको अमेरिकी दूतावासको अनुमान छ र अन्य ३ हजारजना अमेरिकी नागरिकहरु यस समयमा नेपाल भ्रमण रहेको दूतावासका अधिकारी बताउँछन् ।
अमेरिकी दूतावासले आफ्ना नागरिकको उद्दारमा हेलिकप्टर नै पठाउनुपरेको र लाङटाङ क्षेत्रबाट ३ अमेरिकीलाई उद्दार गरिएको बताइएको छ । त्यस्तै शुक्रबार ७ अमेरिकीलाई गोर्खालगायतका क्षेत्रबाट उद्दार गरी काठमाण्डौ ल्याइएको छ ।
भूकम्पपछि सम्पर्कविहीन बनेका १ सय ७० जना आयरल्याण्डका नागरिकहरुलाई उद्दार गरी आयरल्याण्ड फर्काइसकिएको आयरल्याण्डको विदेश मन्त्रालयले जनाएको छ ।
इकोनोमिक्स टाइममा अनुसार नेपालमा भूकम्पपछि अहिले पनि ठूलो संख्याका विदेशी नागरिकहरु हराइरहेको तथा अलपत्र अवस्थामा रहेको उल्लेख गरेको छ । कम्तिमा १ हजार जना क्यानेडियनका साथै नेदरल्याण्ड तथा इजरायल लगायतका देशका पर्यटकसमेत नेपालका विभिन्न ठाउँमा अलपत्र परेको इकोनोमिक्स टाइमले उल्लेख गरेको छ ।
न्युयोर्क टाइम्सको अनलाइन संस्करणले नेपालमा भूकम्पपछि सम्पर्कविहीन भएका हजारौँ विदेशी नागरिकहरु सम्पर्कमा आइसकेको भए पनि अझै धेरै विदेशी नागरिकहरु हराइरहेको र नेपालस्थित सम्बन्धित देशका कुटनीतिज्ञहरुले खोजी गर्ने प्रयास जारी राखेको उल्लेख गरेको छ । उसका अनुसार लाङटाङ पदयात्रामा गएका ३ जना अमेरिकी महिला स्थानीय २ सयजना गाउँलेका साथै अन्य पदयात्रीसँगै हिमपहिरोमा पुरिएका छन् र उनीहरुको मृत्यु भैसकेको आशंका गरिएको छ ।








