वैशाख ७ ।काठमाडौँ,प्रधानमन्त्री सुशील कोइरालाले विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रीय सुबीरनाथ खनाललाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गर्नुभएको छ ।प्रधानमन्त्री कार्यालयले आज एक विज्ञप्ति प्रकाशित गरेर काठमाडौं-५, कालोपुल निवासी खनाललाई प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । खनाल विसं २०३२ सालको विद्यार्थी आन्दोलनको केन्द्रीय स्तरको नेतृत्वमा रहनुभएको थियो ।
खनालले एमएस्सी, एमपीए र प्राकृतिक प्रकोप व्यवस्थापन र नियन्त्रणमा अक्स्फोर्डबाट स्नातकोत्तर गर्नु भएको छ । २०३४ सालमा त्रिभुवन विश्वविद्यालयको सहायक प्राध्यापक रहनुभएका खनाल २०३६ सालको जनमत संग्रहमा प्युठान जिल्लामा खटिँदा बहुदलको प्रचार गरेको अभियोगमा निर्वाचन आयोगले फिर्ता बोलाएको थियो ।उहाँ नेपाली कांग्रेसका तात्कालिन नेता गिरिजाप्रसाद कोइरालाको समिपमा रही तरुण पत्रिका लगायत नेपाली कांग्रेसका अन्य प्रचार सामग्री निर्माण र वितरणमा संलग्न रहनुभएको थियो । उहाँ २०४६ सालको जनआन्दोलनमा कर्मचारीको नेतृत्व गरी आन्दोलनमा सहभागी हुनुभएको थियो ।
२०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिव रहनुभएका खनालले तात्कालिन अवस्थामा राजसंस्थामा रहेको शक्तिलाई जननिर्वाचित प्रधानमन्त्रीमा हस्तान्तरण गर्न सफल भूमिका निर्वाह गर्नुभएको थियो ।खनालले एमएस्सी, एमपीए र प्राकृतिक प्रकोप व्यवस्थापन र नियन्त्रणमा अक्स्फोर्डबाट स्नातकोत्तर गर्नु भएको छ ।
नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहनुभएका खनाललाई पार्टीका तात्कालीन महामन्त्री सुशील कोइरालाले पार्टीको केन्द्रीय प्रशासन विभागको जिम्मेबारी पनि सुम्पनुभएको थियो ।








