निर्वाचन आचार संहिता लागू, झोला, के गर्न पाइन्छ, के पाइँदैन ? (पूर्णपाठ)

काठमाडौं । निर्वाचन आयोगले शुक्रवार राति १२ बजेबाट लागु हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ ।

आयोगले पत्रकार सम्मेलन गरेर आचारसंहिता जारी हुनेबारे जानकारी गराएको हो ।

आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन ।

दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले प्रष्ट पारेको छ । ३५ दिन सरकार, सरकारी कार्यालय, राजनीतिक दल, तिनका उम्मेदवार, नेतादेखि सञ्चारमाध्यमसम्मले आचार संहित पालना गर्नुपर्दछ ।

आयोगले आचार संहिता उल्लंघन गर्नेलाई कारबाही पनि गर्दछ । यसअघिभन्दा आयोगले यसपटक आचार संहितामा निकै कडाई पनि गरेको छ ।

सरकारले आचारसंहिता लागू भएपछि वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्नसमेत रोक लगाउँछ ।

आचारसंहिता लागू भएपछि कुनै योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदान दिनसमेत नपाइने उल्लेख छ । त्यस्तै निर्वाचनको कामबाहेक कर्मचारीको सरुवा र पदस्थापनासमेत गर्न पाइँदैन । आयोगको अनुमतिबेगर सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमणमा जानसमेत मिल्दैन ।

आचारसंहितामा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिकस्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नुभन्दा ७२ घण्टाअघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान पनि छ ।

जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न, झन्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न नहुने पनि आचारसंहितामा उल्लेख छ ।

आयोगको आचारसंहिता अनुसार उम्मेदवारले ‘ए(फोर’ आकारको कागजमा आफ्नो बायोडाटा वितरणमा भने रोक लगाएको छैन ।

चुनावका लागि आयोगले हेलिकोप्टर प्रयोगमा रोक लगाएको छ । तर, दलका मुख्य प्रचारकका लागि भने हेलिकोप्टर प्रयोग गर्न सक्ने खुकुलो व्यवस्था पनि आचारसंहितामा राखेको छ । आचारसंहिताअनुसार साइकल, रिक्सा, ठेलागाडा, बयलगाडा, टाँगालगायतका सवारीसाधन चुनाव प्रचारमा प्रयोग गर्न भने पाइँदैन ।

सम्बन्धित शिर्षकहरु