थप १३९ जनामा कोरोना संक्रमण,तीन संक्रमितको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३९ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा धेरै दैलेखमा २८ जना, सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १०/१० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बैतडीका ४, काठमाडौं, ललितपुर र कास्कीमा ३/३ जना, सल्यानमा २ तथा सिरहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एक/एक जनामा पनि संक्रमण देखिएको छ ।

पर्साको वीरगञ्ज नगरपालिकाका ६५ वर्षीय पुरुष र धनुषाको शहीनगर नगरपालिकाका ३६ वर्षीय पुरुषको हिजो र बाराको ठेटा गाउँपालिका निवासी ६० वर्षीय पुरुषको साेमबार मृत्यु भएकाे मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे सङ्ख्या ४८ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोनाबाट बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो ।

उनी निमोनिया, मिर्गौला र मस्तिष्कघातसम्बन्धी रोगका बिरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्र विभिन्न आइसोलेसन सेन्टरबाट ६२६ जना डिस्चार्ज भएका थिए ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ७७२ पुगेको छ । उनीहरु मध्ये ४८ जनाको मृत्यु भएको छ भने १३ हजार ७५४ जना निको भएका छन् ।

सम्बन्धित शिर्षकहरु