आगलागीमा परी एनेकपा माओवादीका नेता सहित चार जनाको मृत्‍यु

माघ १९ । धादिङ,धादिङको धुसा-१ चरौंदीमा आगोमा जलेर एकीकृत नेकपा माओवादीका स्थानीय नेता सहित एकै परिवारका चार जनाको मृत्यु भएको छ ।स्थानीय किशोरचन्द्र थपलियाको घरमा आगो लाग्दा थपलियासहित उनको ज्वाईं अनिल जिसी, छोरी योजना र नातिनी रोजेट जिसीको मृत्यु भएको हो ।

थपलिया एनेकपा माओवादी धुषा गाउँ कमिटीका अध्यक्ष हुनुहुन्छ । थपलियाको घरमा भाई पवनको विवाह थियो । आइतबार विवाह भोज सम्पन्न गरी पाहुना बिदाई गरेर राति स-परिवार सुतेको अवस्थामा सोमबार विहान २ बजे आगो लागेको थियो ।विवाहको रमाइलो सकेर सुतेका परिवारमा एकाएक दुःखद् घटनाको खबरले थपलिया परिवार शोकमा डुबेको छ ।
आगोमा जलेर थपलियाकी श्रीमती अणकुमारी घाइते हुनु भएको छ । । उहालाई उपचारको लागि काठमाडौंको बीर अस्पताल ल्याइएको छ ।
थपलियाको जस्ताले छाएको २ तले घरमा विद्युत सट भएर आगो लागेको अनुमान गरिएको छ । खाना पकाउने ग्यास सिलिण्डर पनि पड्कीएपछि धेरै क्षति भएको प्रहरीले जनाएको छ । आगो निभाउन प्रहरी, नेपाली सेना र स्थानीय खटिएका थिए । तर, दमकल नहुँदा आगो निभाउन समस्या परेको प्रहरीले जनाएको छ ।गत शुक्रबार काभ्रेको पनौति १० सुनथानमा पनि विद्युत सट भएर घरमा आगो लाग्दा एकै परिवारका तीन जनाको मृत्यु भएको थियो ।

सम्बन्धित शिर्षकहरु