दाङ,लमही नगरपालिका वडा नं.११ का डिल्लीराज खनालले ६ सय १ सभासद् विरुद्ध ठगीको उजुरी दिनु भएको छ। नेपाली जनतालाई ठगी गरेको भन्दै संविधानसभाका ६ सय १ सभासद् विरुद्ध खनालले जिल्ला प्रशासन कार्यालय दाङमा ठगीको उजुरी दिनु भएको हो ।निर्धारित समय माघ ८ गते नयाँ संविधान जारी नगरी ६ सय १ सभासदले जनतालाई ठगेको भन्दै खनालले ठगीको उजुरी दिनु भएको हो ।
इलाका प्रशासन कार्यालय लमहीमार्फत खनालले जिल्ला प्रशासन कार्यालय घोराही दाङमा फ्याक्स पठाई ठगीसम्बन्धी उजुरी दिएका हुन् । माघ ८ गते संविधान दिन्छौं भन्दै तलबभत्ता र चुनावमा ३० अर्ब रुपैयाँ सभासदहरुले ठगेको आरोप खनालले लगाउनु भएको छ । उहाले ठगी गरिएको उक्त रकम असुल्न प्रशासनमा उजुरी दिएको बताउनु भयो ।
“माघ ८ मा संविधान ल्याउछौं भनेर भ्रममा पारे । यो अवधिसम्म गरेको खर्चमा मेरो पनि केही लगानी लागेको छ” खनालले भन्नु भयो, “मेरो लगानीसहित देशभरका नागरिकको रुपैयाँ पैसा चुस्ने सभासदहरुलाई कारवाही होस् भनेर यसो गरेको हुँ ।”
सभासदहरुले अझै पनि संविधान बनाउँछौं भन्दै झुक्याउन सक्ने र त्यसको भ्रममा नपर्न खनालले सबैमा आग्रह गर्नु भयो ।
खनालले नेताहरुलाई खबरदारी गर्न सबै नागरिक जाग्नु पर्ने बताउनु भएको छ ।








