माघ ७ ।काठमाडौँ,प्रधानमन्त्री सुशील कोइरालाले अब बन्ने संविधानले मात्र सबै जातिको पहिचान र हकअधिकार सुनिश्चित हुने बताउनु भएको छ ।प्रधानमन्त्री कोइरालाले निर्धारित समयमै संविधान बनेमा कसैको भाषा, पहिचान र अधिकार कसैले रोक्न नसक्ने बताउँदै उहाँले अब बन्ने संविधानले सबै जातिको हक अधिकार सुनिश्चित हुने उल्लेख गर्नुभयो ।
तामाङ समुदायको महान् पर्व ‘ल्हुक सोनाम ल्होसार २८५१’ को अवसरमा ल्हुक ल्होछार बृहत् मूल संयोजन समितिले बुधवार खुलामञ्चमा आयोजना गरेको कार्यक्रममा उहाँले आन्दोलन छाडेर संविधान निर्माणमा जुट्न आन्दोलनरत दलहरुलाई आग्रह गर्नु भयो ।कार्यक्रममा आदिवासी जनजाति आन्दोलन समितिका संयोजक पद्मरत्न तुलाधरले जनजाति सदियौँदेखि शोषित र उत्पीडित रहेकाले अब बन्ने संविधानमा जनजातिको अधिकार सुनिश्चित हुने पहिचानसहितको सङ्घीयताका लागि आफूहरु सङ्घर्षरत रहेको उल्लेख गर्नुभयो ।
आदिवासी जनजाति आन्दोलनका अगुवा परशुराम तामाङले तामाङ समुदायको अधिकारका सबै तामाङ एकताबद्ध हुन जरुरी छ भन्नुभयो ।
एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुनले सबै जाति र समुदायको पहिचान र अधिकार नयाँ बन्ने संविधानले सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले सम्पूर्ण आदिवासी जनजातिको हकअधिकार सुनिश्चित गर्न सङ्घर्ष आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा तामाङ कला र संस्कृति झल्कने विभिन्न साङ्गीतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । कार्यक्रम स्थलमा जातीय वेशभूषा र विभिन्न परिकार समेटिएका झन्डै १०० कक्षहरु राखिएका थिए ।








