काठमाडौं । सरकारले आयोजना गर्ने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा कूल ७७ वटा परियोजनालाई ‘शो केश’ मा राखिने भएको छ । यही चैत १५ र १६ गते काठमाडौँमा हुने सम्मेलनमा सरकारकोतर्फबाट ५० र निजी क्षेत्रका तर्फबाट २७ वटा आयोजना समावेश गरिएको छ ।
सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको लगानी बोर्डले जानकारी दिएको छ । सम्मेलनको तयारीका बारेमा अवगत गराउन मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बोर्ड बैठकले सम्मेलनमा सहभागी हुने पाहुनालाई उच्चस्तरको आतिथ्यता प्रदान गर्ने निर्णय पनि गरेको छ ।
यस अघि गोर्खा भूकम्पपछि २०७२ साल असार १० गते लगानी सम्मेलन भएको थियो । सम्मेलनको तयारीका बारेमा चासो व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागीलाई प्रदान गर्ने आतिथ्यतामा कुनै पनि कमी कमजोरी हुन नदिने गरी व्यवस्था मिलाउन निर्देशन दिनुभएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।
लगानी स्म्मेलनमा विभिन्न मुलुकका ६०० बढी प्रतिनिधि तथा लगानीकर्ता सहभागी हुने छन् । स्वदेशभित्रबाट पनि सहभागिताका लागि उत्साहपूर्ण चासो व्यक्त भएको छ । यस्तै विभिन्न देशमा रहेका गैरआवासीय नेपालीसमेत सहभागी हुनेछन् ।








