अधिकांश भेगको तापक्रम निकै खस्कियो,सुधार आउन अझै २ साता लाग्ने

काठमाडौं । भारतको जम्मुकास्मिर हुँदै भित्रिएको उत्तरपश्चिमी वायु हिमालय शृंखलालाई छोएर बहँदा मुलुकका अधिकांश भेगको तापक्रम निकै खस्किएको छ। यही उत्तरपश्चिमी वायुको सक्रियताले चिसो अझै बढ्ने मौसमविद्हरूले जनाएका छन् । मंगलबार २ दशमलव ६ डिग्री रहेको काठमाडौं उपत्यकाको तापक्रम बुधबार १ दशमलव ५ डिग्रीमा झरेको छ।

बिहिबार बिहान भने न्यूनतम तापक्रममा केहि सुधार आएपनि चिसो झन् बढ्ने मौसम्विद्को अनुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मध्य हिउँद अझै बाँकी रहेकाले तापक्रम अझै खस्किने जनाएको छ । अहिलेको मौसमी अवस्थालाई हेर्दा काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम शून्यको हाराहारी झर्न सक्ने अनुमान गरिएको छ ।

अधिकांश हिमाली र उच्च पहाडी भेगको तापक्रम माइनस १० को हाराहारीमा भएको महाशाखाका अधिकारीहरूको अनुमान छ। मौसममा आएको परिवर्तनसँगै केही दिनयता हवाई भिजिविलिटी घटेकाले आन्तरिक उडान पनि प्रभावित बन्न थालेको छ । गत वर्ष हिउँदयाम (जनवरी १४ तारिख) मा काठमाडौं उपत्यकाको सबैभन्दा न्यूनतम् तापक्रम शून्य दशमलव ४ डिग्री मापन भएको थियो।

बुधबार मुलुकका अन्य भेगको तापक्रम पनि निकै घटेको थियो । जुम्लाको न्यूनतम तापक्रम माइनस ८, जिरीको माइनस ३ दशमलव ३ र जोमसोमको माइनस ३ दशमलव २ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसममा आएको परिवर्तनसँगै केही दिनयता हवाई भिजिविलिटी घटेकाले आन्तरिक उडान पनि प्रभावित बन्न थालेको छ।

बिहान ८ बजेभन्दा अघिको मौसम पूर्णरूपमा नखुल्दा हवाई सेवा प्रभावित बन्ने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ब्रिफिङ शाखाले जनाएको छ। बिहानका लागि तय भएका उडान मौसमी प्रभावले नियमित बन्न नसक्दा उडान समय तालिकाभन्दा पछि धकेलिने गरेको र केही ठाउँको रद्धसमेत हुन थालेको एअरपोर्ट ब्रिफिङ् शाखाले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु