अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध कारण देखाउ आदेश जारी, यस्तो छ कारण

काठमाडाैँ । सर्वोच्च अदालतले निर्वाचन आयोगलाई एउटै नाम ‘नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नामक दुई पार्टी कसरी दर्ता भए भनेर सोधेको छ।  न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलाशले निर्वाचन आयोग एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध कारण देखाउ आदेश जारी गरेको हाे।

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा नेकपा विधिवत दर्ता छँदाछँदै उही नाममा निर्वाचन आयोगले अर्को पार्टीलाई दर्ता दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले गत मंसिर २१ गते निर्वाचन आयोग एवं सत्तारुढ नेकपाका दुई अध्यक्षलाई प्रतिवादी बनाई मुद्दा दायर गरेका थिए।

कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सत्तारुढ दल नेकपाले विधानविपरीत आफ्नो पार्टीको पहिचान नै अन्त्य हुनेगरी नामाकरण गरेर नाम राखेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका थिए। दलको नामका सम्बन्धमा उजुरी परेपछि निर्वाचन आयोगले प्रमुख आयुक्त लगायत आयुक्तहरूको उपस्थितिमा दुवै पार्टीका प्रतिनिधिसहितको संवैधानिक तथा कानुनी इजलास राखेको थियो।

आयोगले कात्तिक ९ गते नेकपाको पक्षमा फैसला सुनाएको थियो। उक्त फैसलालाई चुनौती दिँदै कट्टेल सर्वोच्च पुगेका हुन्। सत्तारुढ दलको पक्षमा फैसला भएकाले आफू अन्यायमा परेको कट्टेलले निवेदनमा दाबी गरेका छन्।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच जेठ ३ गते एकता भएपछि सो पार्टीको नाम पनि नेपाल कम्युनिष्ट पार्टी नै राखिएको थियो। सर्वोच्चले एकीकृत पार्टीलाई पनि किन नेकपा नै राखिएको जवाफ माग गरेको छ।

सम्बन्धित शिर्षकहरु