भारी हिमपातले पर्यटकलाई आपत

मंसिर २९ । सोलुखुम्बु, खुम्बु क्षेत्रमा पाँच फिटसम्म हिउँ जमेपछि सोलुखुम्बुको गोक्यो क्षेत्रमा पुगेका पर्यटकहरु अलपत्र परेका छन । खुम्बु क्षेत्रको गोक्यो ट्रेकिङ रुटमा गएका ४० विदेशी र ३० नेपाली पर्यटक अलपत्र परेका हुन् ।

आइतबार बिहानै नाम्चेतर्फ आउने तयारीमा रहेका उनीहरु हिमपात भएपछि गोक्योकै अलपत्र परेका हुन ।

बाक्लो हिउँ परेपछि हिँड्न नसकेर र बाटो पहिल्याउन नसकी होटलमै बस्न बाध्य भएको कान्जीरोआ ट्रेकिङ एजेन्सीले जानकारी दिएको छ ।
होटलमा सुरक्षितरुपमा बसिरहे पनि आफ्नो देश फर्किने जहाजको टिकट छुट्ने र तालिका बिग्रने भन्दै विदेशी पर्यटकहरु चिन्तित बनेका छन् ।

हिउँ तत्काल नपग्लने भएकाले फर्किन अझै कम्तिमा ३ दिन कुर्नुपर्ने भएकाले आफूहरुको उद्धार गरिदिन उनीहरुले आग्रह गरेका छन् ।

पर्यटकहरु कुन-कुन ट्रेकिङ एजेन्सीबाट गएका हुन् र कुन-कुन देशका नागरिकहरु हुन् भन्ने पूर्ण विवरण आइसकेको छैन ।
पर्यटकको चाप हुने खुम्बु क्षेत्रमा अमेरिका अस्ट्रेलिया र जर्मनीका नागरिकहरु आउने गर्दछन ।

सम्बन्धित शिर्षकहरु