
काठमाडौं । देश कम्युनिस्ट शासन आएपछि सर्वसाधारण जनतामाथि थुप्रै करका भार थपिएका छन् । तर, तपाईले सहजै पत्याउनै नसक्ने गरी भ्याट उठाउने काम भइरहेको छ । सरकारका प्रतिनिधिलाई मोजमस्ती गर्ने रकम र तलब भत्ता जुटाउन ललितपुरको गोदावरी नगरपालिकाले पानीमा समेत भ्याट दिइरहेको छ । तपाईलाई विश्वास नलागेपनि यो कुरा पत्याउनैपर्छ ।
गोदावरीबाट पानी लिएर आएका ट्यांकरहरू टौखेलको ढाटअघि रोकिनुपर्छ । त्यहाँ गोदावरी नगरपालिकाले ठेक्का दिएको कम्पनीका कर्मचारीले प्रत्येक पानी ट्यांकरसँग कर उठाउँछन् । त्यहाँ जारी हुने बिलबिजक अनुसार करको दर सानो ट्यांकरको सय र ठूलोको १ सय ५० रुपैयाँ देखिन्छ ।
यसरी लाग्ने करमा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) भनेर थप असुलिन्छ । अर्थात्, ठूलो ट्यांकरले १ सय ५०, नाम नखुलेको करसहित भ्याटबापत १९ रुपैयाँ ५० पैसा जोडेर कुल १ सय ६९ रुपैयाँ ५० पैसा बुझाउँछन् । सरकारले अत्यावश्यक वस्तु भनी पानीमा भ्याट छुट दिएको छ ।
वस्तु तथा सेवाको मूल्यमा हुने अभिवृद्धिमा लाग्ने कर नै भ्याट हो । तर, गोदावरी नगरपालिकाले भने पानीमा पनि भ्याट लगाउने गरी ठेक्का दिएको हो । अाजको कान्तिपुर दैनिकले खबर छापेको छ ।







