बाँदर भगाउन किसानद्वारा बन्दुको माग

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा बाँदरले मकै नष्ट गरेपछि किसानले सांसद गुहारेका छन्। पहाडी जिल्ला पाल्पाको प्रमुख अन्नबाली मकैमा घोगा हाल्न थालेसँगै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान मकै जोगाइदिनका लागि गाउँपालिका प्रमुख र प्रदेश सांसदसँग हारगुहार गर्न पुगेका हुन्।

गाउँमा युवा पुस्ता नभएकाले महिला, वृद्ध र बालबालिकालाई बाँदर धपाउन समस्या भएको छ। महिला तथा बालबालिकाले बाँदर धपाउन खोज्दा पटकपटक आक्रमणमा पर्नुपरेको गुनासो बाँदर पीडितले गर्दै आएका छन्।

रिब्दीकोट गाउँपालिका–३ का ९५ घरपरिवार मकैबारीमा बाँदरको बगाल बस्तीमा पसेपछि मकै नष्ट गरेको स्थानीय बासिन्दा रामबहादुर सुनारले गुनासो गरे। बाँदर पीडित सुनारले भने, ‘एउटा बगाल बाँदरलाई गाउँबाट धपायो, अर्को बगाल आएर खाइहाल्छ। मकै, तरकारी बाली उत्पादन गरे पनि बाँदरले नष्ट गरेकाले साह्रै मर्कामा प¥यौँ।’

वाँदर पीडितले प्रदेश सांसद तुलाराम घर्ती ‘बसन्त’, गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसी लगायतलाई भेटेर बाँदर नियन्त्रण गरिदिन माग गरेका हुन्। बाँदरलाई गाउँबाट धपाउन निकै मुश्किल बन्दै गएपछि उनीहरुले भरुवा बन्दुक पड्काएर बाँदर नियन्त्रण गर्न पाउनुपर्ने माग राखेका छन्।

रिब्दीकोट गाउँपालिका–३ का बाबुलाल रसालीले बाँदरले मकै र मृगले अन्नबाली नष्ट गरेसँगै किसानको मेहनत खेर गएको गुनासो गरे। प्रदेश सांसद तुलाराम घर्ती ‘बसन्त’ले बाँदरको समस्या सुनेपछि भने, ‘पहिलोपटक नयाँ प्रकृतिको समस्या आयो। सिंह, बाघले क्षति गरे क्षतिपूर्ति पाउने व्यवस्था भएपनि बाँदरबाट भएको नोक्सानीको राहत पाउने व्यवस्था रहेनछ।’

बाँदर प्रवेश गर्ने स्थानमा मान्छे राखेर बाँदर धपाउनुपर्ने उनले बताए। भरुवा बन्दुक प्रयोग गरी बाँदर धपाउने व्यवस्था नभएको भन्दै उनले त्यो व्यवस्थाको लागि पहल गर्ने आश्वासन दिएका छन्। पछिल्ला वर्ष वन संरक्षणसँगै पाल्पाका रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली माथागढी, तिनाउ गाउँपालिकालगायतका ठाउँमा बाँदरका कारण किसान हैरानी भोग्न बाध्य छन्।

सम्बन्धित शिर्षकहरु