
काठमाडाैँ । अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनीले सुन तस्करीको सबैभन्दा धेरै सूचना भएका व्यक्ति गोरेलाई जहाँ भेट्यो त्यहीँ गोली हानेर हत्या गर्न निर्देशन दिएको देखिएको छ। हत्यापछि गाेरेकाे इन्काउन्टरमा मृत्यु भएकाे भनेर प्रचार गर्ने याेजनाअनुसार महाशाखा टाेली पूर्व पुगेकाे रहस्य खुलेकाे हाे।
२०७४ फागुन १८ गते राति महाशाखा प्रमुख लोहनीले डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई सुन तस्करी एवं सनम शाक्य हत्या अनुसन्धानका लागि धारन पठाएका थिए। उनी धरान पुगिसकेपछि राति भएको सम्वादमा एसएसपी लोहनीले दोहोरो भिडन्तको नाउँमा गोरेलाई हत्या गर्न निर्देशन दिएका हुन्।
‘त्यहाँ (धरान) बाट हाम्रो गाडी मुभ गराउने भनेको त दोहोरो (भिडन्त) देखाउनलाई हो नि त’, काठमाडौंमा रहेका एसएसपी लोहनीले धरानमा रहेका डिएसपी केसीलाई निर्देशन दिँदै भनेका छन्, ‘दोहोरो त जहाँ पनि गर्न भइहाल्छ नि। गाडी त्यहाँ राख्यो। खोज्दै जाने क्रममा त्यसलाई जहाँ भेट्यो त्यहीँ हान्दियो। सिद्धियो।’








