अष्ट्रेलिया । अष्ट्रेलियाले आइतबारदेखि नै लागु हुने गरी नयाँ भिसा प्रक्रिया जारी गरेको छ । यसपहिले विदेशी कामदारहरुलाई दिँदै आएको भिसा–४५७ लाई पूर्णत: हटाउँदै नयाँ प्रक्रिया शुरु गरिएको हो । यस भिसा प्रक्रिया अन्तरगत विदेशमा रहेका दक्ष कामदारहरुलाई अष्ट्रेलिया प्रवेश र काम गर्न सहजता प्रदान गर्ने विश्वास गरिएको छ । टेम्पोररी स्किल सर्टेट (टिएसएस) भिसा विभिन्न दुई तहमा वर्गिकरण गरेर जारी गरिएको हो ।
यसपहिले रहेको ४५७ भिसा पनि विदेशी कामदारहरुलाई नै लक्षित भएपनि अष्ट्रेलिया सरकारले केही महिना पहिल्यै यो भिसा प्रक्रिया हटाउने निर्णय गरेको थियो । मार्चको १८ तारिखदेखि लागु भएको यो भिसा छोटो र लामो समयका लागि वर्गिकरण गरिएको छ । जसअनुसार लामो भिसामा अष्ट्रेलिया आउने विदेशी कामदारहरुले स्थायी बासिन्दा (पिआर) को अनुमतीको आवदेन दिन पाउनेछन् भने छोटो भिसामा आउनेहरुलाई यो सुविधाबाट वञ्चित गरिएको छ ।
अध्यागमन मन्त्रालयका अनुसार यो भिसा दुई वर्ष र चार वर्षका लागि फरक बनाइएको छ । जसमा दुई वर्षका लागि आउनेहरुले काम सकेपछि फर्कनुपर्नेछ भने ४ वर्षका लागि आउनेहरुले आएको ३ वर्षपछि स्थायी अनुमतिका लागि आवेदन दिने अधिकार पानेछन् । अर्कोतिर यस भिसामा विदेशबाट कामदार बोलाउनुअघि अष्ट्रेलियामै रहेका कामदारहरुलाई प्राथमिकता दिएको हुनुपर्ने शर्त समेत राखिएको छ । -कान्तिपुर दैनिक








