काठमाडौं। बैतडी हटैराज–२ गुर्केलीका रणबहादुर चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै पाकिस्तानमा अलपत्र परेका आफ्नो भाइ ९नरेन्द्रबहादुर चन्द० र उनको परिवारको उद्धार गरी नेपाल ल्याईदिन अनुनयविनय गरेका छन्। पाकिस्तानको प्रधानमन्त्री शाहिद खाकान अब्बासीको सोमबारबाट सुरु हुने दुई दिने नेपाल भ्रमणका बेला आफ्नो भाइको समस्या राखिदिन पनि उनले प्रधानमन्त्रीसँग अनुरोध गरेका छन्।
‘मेरो भाई पाकिस्तानको बलुचिस्तान स्थित शरणार्थी शिविरमा बसेको र निजको श्रीमतिको विवाह दर्ता र छोरा छोरीको जन्मदर्ता समेत नभएको हुँदा नेपाल ल्याउनको लागि उच्चस्तरीय पहल भएमा मात्र सम्भव हुने पाकिस्तानस्थित नेपाली दूतवासले बताउँदै आएको छ,’ रणबहादुरले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ, ‘आउँदो सोमबार पाकिस्तानका प्रधानमन्त्रीज्यू नेपाल भ्रमणमा आउनुहुने भएकोले सोही अवसरमा मेरो भाईको लागि नेपालका सम्माननीय प्रधानमन्त्रीज्यूले भाइ लगायत स–परिवार स्वदेश फिर्ति गराउने वातावरण मिलाईदिन हुन भनि याचना गर्दछु।’
रणबहादुरका भाइ नरेन्द्र पाकितानको क्वेटा जेलबाट गत पुस २९ गते रिहा भएका हुन्। लामो समयदेखि गैरकानुनी रुपमा पाकिस्तानमा बसेको भएपनि उनी कुनै आपराधिक क्रियाकलापमा संलग्न नभएको भन्दै स्थानीय अदालतले उनलाई पुसमा रिहा गर्ने आदेश दिएको थियो।
नरेन्द्र १३/१४ वर्षको हुँदा २०४६ सालमा भागेर भारत पुगेका थिए। त्यसपछि उनी परिवारसँग सम्पर्क विहिन बनेका थिए । त्यसैवर्ष उनी एकजना पाकिस्तानीको साथ लागेर पाकिस्तान पुगेका थिए । सुरुमा पाकिस्तानको कराचीमा बसेका उनी केही वर्षपछि बलुचिस्तान पुगेका थिए । त्यहाँ उनले मुस्लीम धर्म अँगालेर अफगानीस्तानको शरणार्थी युवतीसँग विवाह गरेका थिए । उनको एक छोरा र एक छोरी रहेका छन् ।
हराएको २७ वर्षपछि २०७३ कात्तिक ११ गते नरेन्द्र नेपालमा रहेका आफ्नो परिवारको सम्पर्कमा आएका थिए। सामाजिक सञ्जाल मार्फत उनी बिभिन्न व्यक्तिहरुको सहयोगमा परिवारको सम्पर्कमा आएका थिए । परिवारको सम्पर्कमा आएको महिना दिन बित्न नपाउँदै २०७३ मंसिर ८ गते उनलाई स्थानीय प्रहरीले पक्राउ गरेको थियो। उनीसँग राहदानी तथा भिसा नभएपछि पाकिस्तानको प्रहरीले उनलाई क्वेटा जेलमा राखेको थियो। आजको नागरिक दैनिकमा खबर छ ।









