काठमाडौं । निर्वाचन परिणाम समेत सार्बजनिक नभैसकेको अवस्थामा देशको राजनीति गुजुल्टिएर बसेको छ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सकिएपछि संसदको अधिवेशन सुरु भएर नयाँ सरकारले पदभार लिने आम अपेक्षा विपरित राष्ट्रिय सभाको निर्वाचन हुन बाँकी रहेकाले राजनीति गुजुल्टो परेको देखिएको छ। संविधान र कानूनी प्रावधान एकातिर र राजनीतिक खिचातानी अर्कोतिर भएर झन अन्योल छाउँदै गएको छ।
यसरी राजनीति तुसारो झैं जमेपछि निर्वाचनमा प्रकट भएको जोश र मतदातामा देखिएको हौसला समेत कठांग्रिन पुगेको छ। तर विस्मयको कुरा के छ भने प्रमुख राजनीतिक दलहरु गुजुल्टिएको राजनीति फुकाएर अघि बढ्न मार्ग प्रशस्त गर्नेभन्दा पनि परस्पर दोषारोप गर्ने परम्रागत बानीकै शिकार भैरहेका छन् । फाट्टफुट्ट बाहेक राजनीतिक दलहरुवीच संवाद नहुनु र गतिरोधका कारण भन्दै मनगढन्ते तर्कहरु दोहोर्याईरहनुले सर्बत्र निराशा बढाउँदै लगेको छ ।
निर्वाचनमा बहुमत या दुईतिहाई नै दावी गरिरहेका बाम गठबन्धनका नेताहरुको आपसी संशययुक्त अभिव्यक्ति,पार्टी एकता पहिले कि सरकार गठन भन्नेमा आईरहेका अन्योलपूर्ण बिचारहरु हेर्दा राजनीतिले सहज निकास पाईहाल्ने देखिँदैन। यसैवीच प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले नयाँ प्रधानमन्त्रीको टुंगो नगरेकाले सत्ता हस्तान्तरण गर्न कठिन भएको तर्क गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले सहमति गरेर प्रधानमन्त्रीको नाम टुंगो लगाएमा आफू पद छोड्न तयार रहेको बताएका छन् । आइतबार कैलालीको गोदावारीमा बाह्र राशि मकर मेलाको उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले देशलाई प्रधानमन्त्रीविहीन बनाउन नमिल्ने भन्दै आफुलाई नाम दिन आग्रह गरे ।
उनले वाम गठबन्धनले प्रधानमन्त्रीको नाम चयन गर्न नसक्ने र आफुलाई पद नछोडेको आरोप लगाउनु गलत भएको टिप्पणी गरे । “मैले पद छोड्दिनँ भनेकै छैन सहमति गरेर प्रधानमन्त्रीको नाम त दिनुपर्यो नि,” देउवाले भने, “आफुले नाम चयन गर्न नसक्ने मैले छाडेन भन्ने रु देशलाई प्रधानमन्त्रीविहीन बनाउन मिल्छ ?”
नेकपा एमालेका नेताहरुतर्फ संकेत गर्दै प्रधानमन्त्री देउवाले भने, ‘कानुनी प्रक्रिया, संविधानको दायरा नबुझिकन सत्ता हस्तान्तरणको राग अलापेर मात्रै हुँदैन।’ उनले कानुनी हिसाबले आफूले अहिल्यै सत्ता हस्तान्तरण गर्न नमिल्ने जिकिर गरे। आफू सरकारमा बसिरहन नचाहेको भन्दै प्रक्रिया पूरा गरेरमात्रै सरकारबाट बाहिरिने बताए।
‘म सरकारमा बसिरहन चाहन्न’, तत्काल सत्ता छाड्न तयार छु।’ उनले राष्ट्रिय सभाको निर्वाचन नै नभई नयाँ सरकारको कुरा गर्नु कानुन र संविधानविपरित भएको समेत दावी गरे। प्रधानमन्त्री देउवाले तीन दिनभित्र प्रदेश प्रमुख र मुकाम तोक्ने बताएका छन्। उनले सहमतिको प्रयास गर्दा प्रदेशप्रमुख र मुकायम तोक्न ढिलाई भएको भन्दै सहमति नभए पनि तीन दिनभित्र तोकिसक्ने जानकारी दिए।








