
काठमाडौं । वाम गठबन्धनलाई एकताको स्वरुप दिँदा संयुक्त नेतृत्वमा जाने हो या एकल नेतृत्वलाई सबैले अनुमोदन गर्ने हो भन्ने कुरा चर्चाको विषय बनेको छ ।
एमालेका कतिपय नेताले प्रचण्डलाई अध्यक्ष मान्न सकिने अभिव्यक्ति दिइसकेका छन् भने माओवादीले आफैले यसो गरौँ भन्न नसकिरहेको अवस्था छ । यही क्रममा प्रचण्डलाई राष्ट्रपति दिने भन्ने विषय पनि उठेको छ । तर, उनी अहिले नै सेरेमोनियल भूमिकामा रमाउन सक्ने व्यक्ति होइनन् ।
ओलीले आफू भित्रको सबै समस्या समाधान गर्न पनि सकिरहेका छैनन् । पार्टी एकता देखि सरकारमा कोसँग साझेदारी गर्ने भन्ने विषयमा ओली अझै दुविधामा छन् । एकतर्फ चुनावमा माओवादीसँग काँधमा काँध मिलाएर जनताको मत माग्न गएका ओली अहिले माओवादीलाई छाडेर फोरमसँग मिलेर सरकार बनाउने पक्षमा लागेपनि जनताले के भन्लान् भन्ने पिरलो ओलीमा देखिन्छ ।
उता माओवादीसँग पार्टी एकीकरण गरेर माओवादीलाई नै साझेदार बनाएर सत्तामा जानु झनै ओलीको लागि अर्को खतराको संकेत हुनसक्ने तर्फ ओलीलाई आफ्ना सहयोगीहरुले सुझाव दिएका छन् ।
निर्वाचनको समयमा माधव नेपाल पक्षलाई हदैसम्मको हेपेर उम्मेदवार चयन गरेका ओलीले अहिले माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्डको एउटै बोलीलाई अर्थपूर्ण रुपमा हेरेका छन् । उनले आफू सरकारमा गएर अध्यक्षको जिम्मेवारी प्रचण्डलाई दिने हो भने माधव नेपाल र प्रचण्ड मिलेर पार्टीमा आफूलाई अल्पमतमा पार्ने स्पष्ट दृष्य ओलीले देखिसकेका छन् । यस्तो अवस्थामा ओलीलाई प्रचण्डलाई सरकारमा ल्याउनु नै खतराको संकेत हो भन्ने उनीहरु आफैंले आकलन गरेका छन् ।
उता, प्रचण्डलाई पार्टीमा नल्याई फोरमसँग मिलेर सरकार बनाउनु पनि ओलीको लागि त्यत्तिकै खतराको विषय बनेको छ । एकातिर दोस्रो र तेस्रो दलको बलियो प्रतिपक्ष संसद्मा हुन्छ भने अर्को तिर पार्टी एकताको पक्षमा देखिएका माधव नेपाल पक्षले पनि पार्टी भित्र गतिलै प्रतिपक्षको भूमिका खेल्ने देखिन्छ । यस्तो अवस्थामा फोरमसँग मिलेर सरकार बनाउँदा ओलीलाई दोहोरो प्रतिपक्षको सामना गर्नुपर्ने देखिन्छ ।
सरकार गठन अघि पार्टी एकताको माग माओवादीले नराखेको भए पहिलो २ वर्षको लागि उनी सरका गठन गर्ने र प्रचण्डलाई अध्यक्ष पनि नदिने पक्षमा थिए । त्यो जानेर नै माओवादीले बैठक नै गरी सरकार भन्दा पहिले पार्टी एकीकरणको प्रस्ताव ल्याएपछि अहिले माओवादी र एमालेबीच एकीकरणको विषयमा समेत शंका उपशंका सिर्जना हुन थालेको छ ।
त्यसो त एमाले भित्रै पनि पार्टी एकता नगर्ने हो भने ओलीलाई माधव नेपाल पक्षले चैनका साथ बस्न दिने देखिँदैन । जनताकहाँ जाँदा पार्टी एकता गरेर शक्तिशाली कम्युनिष्ट केन्द्र स्थापना गर्ने एजेण्डा बोकेर गएका यी दुई दललाई जनताले मत पनि दिएका छन् ।
तर, अहिले प्रधानमन्त्रीको लोभमा दुबै दल फुटे भने अहिलेसम्म जनताले एमाले अध्यक्ष ओलीलाई दिएको सम्मानमा पनि हदैसम्मको विचलन आउने देखिन्छ । साथमा समग्र एमाले पार्टी प्रति पनि मानिसको क्रेज स्वभाविक रुपमा घट्ने देखिन्छ ।








