
काठमाडौं । वाम एकताको नाममा एमाले र माओवादीका नेताहरु मानसिक रुपमा निकै अगाडि बढिपनि एकताको मायाजालभित्र प्रश्नै प्रश्न उठेको छ । वाम एकता समग्र प्रक्रिया भने ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार’ भन्ने उखानसँग मेल खाइरहेको अनुभूति पनि गर्न सकिन्छ।
केही नेताले भनेजस्तो पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्ति हुने र पाँच वर्षकै निम्ति हुने हो भने त्यतिबेला एकीकृत पार्टीमा माओवादीले आफूलाई कहाँ पाउँछ? त्यो एकता हुन्छ कि विलयरु वाम एकताको मायाजालभित्र यस्ता प्रश्न अहिले नउठे पनि कालान्तरमा अवश्य उठ्नेछ। एकीकृत पार्टीमा माओवादी कार्यकर्ताले आफ्नो ‘जिन’ पक्कै खोज्लान्।
अहिले सतहमा आलोपालो सरकार निर्माण गर्नेजस्तो सामान्य तर अस्वाभाविक कुरामा असमझदारी बढेको देखिएको छ। तर, एमाले र माओवादीबीचको यसअघिको एउटा सहयात्रा आलोपालोकै असमझदारीले नै टुंग्याइदिएको भुल्नु हुँदैन।
०७३ बैशाखमा माओवादीले एमालेको साथ छाडेर कांग्रेसको सहयोगमा आफू नेतृत्वकै सरकार बनाउने प्रयास थालेको बेलामा पनि यही आलोपालोको सहमति गरेर माओवादीलाई थुमथुम्याइएको थियो। बजेट घोषणापछि ओलीले माओवादीलाई सत्ता सुम्पने भनिएको त्यतिबेलाको भद्र सहमति पालना नभएपछि माओवादीले कांग्रेससँग मिलेर सरकार बनाएको थियो।
यसरी संविधान निर्माणपछि बनेको पहिलो वाम सरकार आलोपालोकै किचलोमा फसेर विघटन भएको निकट नजिर हामीसँग छ। अहिले आलोपालो सरकारको नेतृत्व गर्नेबारेको भद्र सहमतिमा देखिएको फरक मतहरु त एमाले र माओवादीको एकीकरणलाई चियाउने एउटा छिद्र मात्र हो। त्यही छिद्र नै यति साघुँरो छ भने भित्रका दृश्यहरु पक्कै स्पष्ट छैनन्।
यहाँसम्म दुई पार्टीहरु ‘विन–विन’ को स्थितिमा छन्। दुवैले चुनावमा हैसियतभन्दा बढी नै मत पाएका छन्। तर, अब सम्झौता गर्नुपर्ने अवस्थामा आइपुगेका छन्। सम्झौता मात्रै होइन, भविष्यको लागि आफ्नो स्थानको सुनिश्चिता पनि गर्नुपर्नेछ। जसलाई चिरेर अगाडि बढ्न कठिन छ। यिनै जटिलताको सन्दर्भलाई आधार मानेर भन्न सकिन्छ, फरक पृष्ठभूमि र अभ्यासबाट उदाएका यी दुई वाम शक्तिको एकता नभएमा पनि कुनै आश्चर्य हुनेछैन।
एमालेको दुराशय
एमाले र माओवादीले ०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ जितेका सिटभन्दा यसपाली लगभग बराबरी प्रतिशतको हाराहारीमा सिट संख्या वृद्धि गरेका छन्। त्यतिबेला एमाले र माओवादीले प्रत्यक्षतर्फ क्रमशः ३८ र माओवादीले ११ प्रतिशतको हाराहारीमा सिट जितेका थिए। यसपटक उनीहरुले क्रमशः ४८ र २२ प्रतिशत सिट जितेका छन्।
यस हिसाबले वाम गठबन्धनले दुवैलाई बराबरी प्रतिफल दिएको छ। अर्थात् गठबन्धनबाट एमालेले माओवादीलाई जति लाभ दियो, त्यति नै लाभ माओवादीले एमालेलाई पनि दियो। वाम गठबन्धन नगरिएको भए अहिले उनीहरुले पाएको सिट पाउने थिएनन् भन्ने बुझ्न गाह्रो छैन।








