
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकतर्फको मतगणना सकिउ पनि निर्वाचन आयोगले यसको अन्तिम परिणाम अझै सार्वजनिक गरेको छैन ।
दलहरुबीच राष्ट्रिय सभा गठनबारे मतभेद बढेपछि आयोग समानुपातिकको अन्तिम परिणाम सार्वजनिक गर्नबाट केही पछि हच्केको छ । आयोगले अन्तिम परिणाम सार्वजनिक नगरे पनि कुन दलले कति सांसद पाउने भन्ने लगभग टुंगो लागिसकेको छ । प्राप्त मतका आधारमा सबैभन्दा ठूलो दल नेकपा एमालेले समानुपातिकबाट प्रतिनिधिसभामा ४१ जना सांसद पाउने भएको छ ।
दलहरुले समानुपातिकका उम्मेदवारहरुको बन्दसूचि आयोगलाई बुझाइसकेका छन् र त्यो सूची आयोगले सार्वजनिक पनि गरिसकेको छ । त्यही बन्दसूचिका आधारमा प्राप्त सिटलाई रोस्टरमा राखेर आयोगले समानुपातिकबाट सांसद बन्नेहरुको अन्तिम नाम टुंगो लगाउनुपर्नेछ । ३३ प्रतिशत महिलालाई छुट्याउनुपर्ने कानुनी व्यवस्था छ ।
यसो गर्दा एमालेले प्रतिनिधिसभाको १२१ अको ३३ प्रतिशत अर्थात् ३९ जना महिला अनिवार्य हुनुपर्छ । प्रत्यक्षतर्फ पद्मा अर्याल र पवित्रा निरौला दुई महिला निर्वाचित भइसकेकाले अब कम्तीमा पनि ३७ महिला समानुपातिकबाट ल्याउनुपर्ने हुन्छ । यसो गर्दा पुरुषको भागमा चार सिट पर्छ । त्यसमा रोस्टर अनुसार गर्दा पहिलो नम्बरमा रहेका खस आर्यबाट मुकुन्द न्यौपाने, आदिवासी जनजातिबाट विजय सुब्बा, मधेसीबाट मोतीलाल दुगड र दलितबाट रामप्रित पासवान पर्ने निश्चितजस्तै छ ।
बाँकी ३७ महिलामा प्रतिशतका आधारमा खस आर्यबाट बढीमा ११ जनासम्म पर्ने देखिन्छ । जसमा क्रमिकरुपमा राधा ज्ञवाली, बिना पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतमसम्म सांसद बन्ने देखिन्छ ।
त्यस्तै आदिवासी जनताजातिबाट पनि १० जनासम्म पर्ने देखिन्छ । १० जना पर्दा अगाडि नाम रहेका आधारमा थममाया थापा, डा. शिवमाया तुम्बाहाम्फे, रामकुमारी झाक्री, बिना श्रेष्ठ, तुलसी थापा, नवीना लामा, शान्तिमाया तामाङ, कुमारी मेचे, बिनादेवी बुढाथोकी, रणकुमारी बलम्पाकी मगरसम्म पर्ने सम्भावना छ ।
मधेसीबाट चार जना पर्ने देखिन्छ । जसमा जुललीकुमारी महतो, डा. पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, रेखाकुमारी झाको सम्भावना रहेको छ । दलितबाट पाँच जना पर्दा निरादेवी जैरु, विमला विश्वकर्मा, विमला विक, पार्वती विसुंके र सानु शिवा पर्ने पक्कापक्की देखिन्छ । त्यस्तै, मुस्लिमबाट कालिला खाम, पिछडिएको क्षेत्रबाट आशाकुमारी विक पनि सांसद बन्ने देखिएको छ । बुधबार साप्ताहिकले खबर छापेको छ ।








