भदौं २३, चितवन । आउँदो संघको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट उम्मेदवार बन्ने भएका छन्।
प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वीरगञ्जमा सम्पन्न पार्टीको सचिवालय बैठकले आफूलाई चितवनबाट निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष दाहालले बताए। उनले जिल्लाको कुन क्षेत्रबाट निर्वाचनमा उठ्ने भन्ने विषयमा टुंगो नलागेको पनि बताए।
उनले भने, “पार्टीको जिल्ला तहबाट समन्वय गरेर क्षेत्र निर्धारण हुनेछ।” देशका फरक÷फरक भूगोल र पृष्ठभूमिको उम्मेदवार बनेर अनुभव संलागेको बताउँदै उनले ती अनुभव र चितवनलाई केन्द्रीय राजनीतिमा जोड्नका लागि यहाँबाट निर्वाचन लड्न लागेको बताए।
“माओवादी युद्धको उद्गमस्थल रोल्पा, राजधानी काठमाडौँ र तराईको प्रतिनिधित्व गर्दै सिराहाबाट यसअघि निर्वाचन लडेको थिएँ, अब आफ्नो कर्मभूमिबाट चुनाव लड्छु,” अध्यक्ष दाहालले भने। आफू चितवनबाट निर्वाचन लड्दै गर्दा यहाँको विकास र राष्ट्रिय राजनीतिमा यस जिल्लाको महत्व झल्कने उनको भनाइ थियो।
“मेरो राजनीतिक क्षेत्र चितवन हुनु यहाँका जनताका लागि महत्वपूर्ण हुने विश्वास लिएको छु,” अध्यक्ष दाहालले भने। प्रदेश र संघको निर्वाचनमा समेत गणतन्त्र र लोकतन्त्रका पक्षधरसँग सहकार्य गर्ने उनले बताए। कांग्रेस, एमाले, मधेशवादी जोसँग पनि गठबन्धन हुनसक्ने दाहालको भनाइ थियो।
“अहिलेको समयमा सत्ता गठबन्धन काँग्रेससँग भएकाले काँग्रेससँगको तालमेललाई विशेष प्राथमिकतामा दिइएको हो,” उनले भने। शान्ति प्रक्रियाका सहयात्री एक ठाउँमा भएर अहिलेसम्म भएका उपलब्धिलाई संस्थागत गर्नतर्फ लागेको अध्यक्ष दाहालले बताए। स्थानीय तहको निर्वाचन अन्तिमचरणमा पुगेको भन्दै उनले प्रदेश र संघको निर्वाचनपछि देश समृद्धितर्फ अगाडि बढ्ने बताए।








