काठमाडौँ, ११ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने औपचारिक भारत भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री देउवासहित भ्रमण टोली पाँचदिने औपचारिक भ्रमण सकि आइतबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भारत भ्रमण सफल भएको दाबी गरेका छन् ।
४८ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै देउवा गत बुधबार नयाँदिल्ली पुगेका थिए । यस अघि आइतबार नयाँदिल्लीमा विशेष बिदाइ समारोहपछि त्यहाँबाट प्रधानमन्त्री देउवा स्वदेश फिर्ता भएका हुन् ।दिल्लीमा उनले फेरि संविधान संशोधनको प्रयास गर्ने अभिव्यक्ति दिएपछि आलोचना भइरहेको छ । सत्ता साझेदार दलले समेत आलोचना गरिरहेको बेला उनकै पार्टी नेपाली कांग्रेसले भने उक्त अभिव्यक्तिमा ‘रणनीतिक’ महत्व रहेको दाबी गरेको छ । यसैगरी, कोशी उच्च बाँध बनाउने सहमति पनि विवादको घेरामा छ ।
देउवाले भारत भ्रमणको क्रममा राष्ट्रपति रामनाथ कोविन्द, समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज लगायतसँग भेटवार्ता गरेका थिए । मोदीसँग भेटवार्ता भएपछि नेपाल र भारतबीच आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।








