सङ्घीयता तथा शासकीय स्वरुपबारे छिट्टै टुङगोमा पुग्छौ :पौडेल

असोज ४ । चितवन, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सङ्घीयता, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषय टुङ्गोमा पुर्याउनका लागि व्यापक छलफल भइरहेको बताउनु भएको छ ।

काँग्रेस चितवनका सचिव सुनिल श्रेष्ठको १२ औँ दिनको पुण्यतिथिका अवसरमा आज नारायणगढमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै पौडेलले दलबीच सहमति हुन नसकेका यी विषय यही असोज १४ भित्र टुङ्गोमा पुग्ने आश्वासअन दिनु भयो ।

उहाँले तोकिएको समयमा संविधान बन्नका लागि कार्यतालिकाअनुसार काम गर्न दलहरु सहमत रहेको बताउनुभयो ।

नेता पौडेलले प्रतिनिधिसभाप्रति उत्तरदायी कार्यकारी प्रमुख प्रधानमन्त्री बनाउने विषयमा सहमति नजिक पुगेको पनि बताउनुभयो ।

पुरानो विषय लिएर सदन अवरुद्ध गरेकामा प्रतिपक्षको आलोचना गर्दै उहाँले सबै कुरालाई सहमतिबाट समाधान निकाल्न सकिने बताउनुभयो ।

उहाँले लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका काँग्रेस चितवनका सचिव सुनिल श्रेष्ठका छोराछोरीको पठनपाठनको जिम्मा पार्टीले लिने जानकारी दिनुभयो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, किशोरसिंह राठौर, गोविन्द भट्टराई, बद्री पाण्डे, प्रदीप पौडेललगायतले श्रेष्ठले देश र पार्टीका लागि पुर्याएको योगदानबारे बताउनुभएको थियो । श्रेष्ठको गत भदौ २५ गते हृदयाघात भई निधन भएको थियो ।

सम्बन्धित शिर्षकहरु