आयल निगमको जग्गा खरिद अनियमितता छानबिन गर्न उपसमिति गठन

साउन ३, काठमाडौँ । नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी अनियमितता छानबिन गर्न उपसमिति गठन गरेको छ ।

आजको बसेको अर्थ समितिको बैठकले सांसद अब्दुल रज्जाकको संयोजकत्वमा नरदेवी पुन, सरस्वती बजिमय, इच्छाराज तामाङ, रमेशप्रसाद कुर्मी र सिर्जना तरामु सदस्य रहेको उपसमिति गठन गरेको हो ।

उपसमितिले उक्त जग्गा खरिदसम्बन्धी अनियमितता सम्बन्धमा स्थलगत अध्ययन गरी समिति समक्ष प्रतिवेदन बुझाउने समितिका सभापति प्रकाश ज्वालाले बताए । आयल निगमले इन्धन भण्डारणका लागि झापा, सर्लाही, भैरहवा र चितवनमा जग्गा खरिद गर्ने क्रममा करोडौँ अनियमितता भएको सूचना सार्वजनिक भएपछि सो विषयमा आज समितिमा छलफल भएको हो ।

बैठकमा आपूर्ति मन्त्रालयका सचिव एवं निगम सञ्चालक समिति अध्यक्ष प्रेमकुमार राईले जग्गा खरिदसम्बन्धी नीतिगत व्यवस्थाका बारेमा जानकारी गराएका  थिए । त्यस्तै निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले जग्गा खरिद नियमसंगत रुपमा भएको स्पष्ट पारेका थिए । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले निगमको जग्गा खरिद प्रक्रियामा करोडौँ रुपैयाँको भ्रष्टाचार भएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरे । बैठकमा सांसदले निगम नेतृत्वले कानुन मिचेर जग्गा खरिद प्रक्रिया अघि बढाइएको र चलनचल्ती मुल्य भन्दा बढी मूल्यमा खरिद गरिएको भन्दै आवश्वक छानबिन गरी कारबाहीका लागि सिफारिश गर्न माग गरेका थिए ।

त्यस्तै बैठकमा कृषि विकास बैंकको जग्गा बिक्री गर्दा अनियमितता भएको भन्ने विषयमा पनि छलफल भएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले उक्त विषयमा कुनै अनियमितता नभएको भन्दै बचाउ गरेका थिए ।

बैठकले कृषि विकास बैंकको जग्गा बिक्री गर्दा अनियममितता भएको भन्ने सम्बन्धमा थप कागजात अध्ययन गरेर मात्र उपसमिति बनाउने निष्कर्ष निकालेको छ । रासस

 

सम्बन्धित शिर्षकहरु