‘गोल्डेन बुक’ मा राष्ट्रपति भण्डारीको हस्ताक्षर

असार २ । जेनेभा,राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्याले डे नेसियोँ’ स्थित अन्तर्राष्ट्रिय श्रम सङ्गठनको कार्यालयमा राखिएको विशेष पुस्तक ‘गोल्डेन बुक’ मा हस्ताक्षर गर्नु भएको छ । यहाँ जारी रहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिनजाने क्रममा हिजो उहाँले विशेष पुस्तकको रुपमा लिइने ‘गोल्डेन बुक’ मा हस्ताक्षर गर्नु भएको हो ।

सङ्गठनको कार्यालय पुग्दा राष्ट्रपति भण्डारीलाई सङ्गठनका महानिर्देशक गाय राइडरले स्वागत गर्नुभएको थियो । ‘रुम एक्स’ स्थित ठूलो टेबुलमा राखिएको ‘गोल्डेन बुक’लाई सङ्गठनमा विशेष पुस्तकको रुपमा लिइन्छ । उक्त अवसरमा सङ्गठनका महानिर्देशक राइडरले राष्ट्रपति भण्डारीलाई उपहार प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, स्विट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धिताल, राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेलको पनि उपस्थिति थियो ।
त्यसै गरी अन्तरराष्ट्रिय स्तरबाट कार्यक्रममा गणतन्त्र मरिससका राष्ट्रपति अमिना गुरिफ फकिमको पनि उपस्थिति थियो । कार्यक्रममा बङ्गलादेशका श्रम राज्यमन्त्री मजिबुल हक पनि सहभागी हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा जेनेभास्थित विभिन्न मुलुकका राजदूतहरु, अन्तर्राष्ट्रिय श्रम सङ्गठनका तथा संयुक्त राष्ट्र सङ्घका अन्य विभिन्न निकायका वरिष्ठ अधिकारी र विभिन्न दूतावासका वरिष्ठ अधिकारीको पनि उपस्थिति थियो ।

राष्ट्रपति भण्डारीले बिहीबार साँझ जेनेभा लेकको पनि अवलोकन गरिसक्नु भएको छ ।

सम्बन्धित शिर्षकहरु